बनेपा : काभ्रेपलाञ्चोकको भीमखोरी–२ कालढुङ्गामा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक मेच्छे–३ बस्ने १६ वर्षीय अजय लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ४७१४ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ६९ प ६९२० नं को मोटरसाइकललाई उछिन्ने क्रममा ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
दुर्घटनामा संलग्न टिपरका चालक डाँडागाउँ गाविसका छुल्टिम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस ट्याक्टर ठोकिँदा ३३ घाइते
यसैबीच तनहुँको व्यास–३ मुसेखोलामा आज यात्रु बस र ट्र्याक्टर ठोकिँदा ३३ जना घाइते भएका छन्। मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४७० नं को बस र विपरीत दिशामा गुडिरहेको लु ३ त २८४१ नं को ट्रयाक्टर ठोकिँदा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको र अन्य दमौली अस्पताल र चिकित्सालयबाट उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। रासस