
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गरेका छन्। ४ वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि अत्मड्जाले प्रधानमन्त्री प्रचण्डसँग बिदाई भेट गरेका हुन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको बताएका थिए। महाभूकम्पको विपत्तिमा इण्डोनसियाले नेपाललाई सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई प्रचण्डले धन्यवाद दिए।
प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासँग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको पनि उक्त अवसरमा धारणा राखेको सचिवालयले जनाएको छ।
बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिए। उनले दुई देशीय सम्बन्ध बिस्तारमा आफ्नो कार्यकाल सफल भएको बताए।