
भक्तपुर : चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ। अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ।
केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो। महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन्।
त्यसैगरी, स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो। सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ।
प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको ओलियाले जानकारी दिए।
सिसी क्यामरा जडान सँगै चोरी, डकैती, लुटपाटलगायत अन्य आपराधिक गतिविधिमा न्यूनीकरण आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रण लिन सहयोग पुग्ने उनले बताए। रासस