काठमाडौं : उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो।
नेपाल हस्तकला महासंघका उपनिर्देशक ऋषिराम सुवेदीले सार्क देशमा उत्पादन भएका हस्तकलाको सोरुम, प्रयोगशाला सेवा र डिजाइन केन्द्र राख्ने गरी तयारी थालिएको जानकारी दिए। उनले भने ‘यो भवन निर्माण हस्तकला विकासका लागि कोसेढुङ्गा साबित हुन्छ।’
भवन निर्माणका लागि महासंघले विस्तृत भवन प्रतिवेदन तयार गरी उद्योगमन्त्रीसमक्ष पठाइसकेको सुवेदीले बताए। उनले अबको केही समयमा नै उक्त भवनको शिलान्यास गर्ने स्पष्ट पारे। उक्त भवन त्रिपुरेश्वरस्थित उद्योग विभागको परिसरमा निर्माण हुन लागेको छ । रासस