बनियानी (झापा) : झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले यस्तो गुनासो गरे।
प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको स्थानीयवासी खड्ग लिम्बूले बताए। प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा कारबाही गर्दा सर्वसाधारणमा डर फैलिएको उनको आरोप छ ।
हेमलाल भट्टराईले भने सीमा क्षेत्रमा पशुजन्य चौपायाको तस्करी प्रहरीकै मिलेमतोमा भइरहेको दाबी गरे। सीमामा प्रहरीले चेकजाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको उनले गुनासो गरेका छन्।
प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले भने प्रहरी मेरो साथी भन्ने नाराजस्तै नगरवासीले प्रहरीलाई साथी मानेर सहयोग गरेमा मात्र नगरको शान्तिसुरक्षामा सुधार आउने बताउँछन्। कुनै पनि प्रहरीले कानुन विपरीत काम गरेमा विभागको नियमअनुसार कारबाही गरिने उनको भनाइ छ।
भद्रपुर भारतको विहार र बङ्गाल राज्यसँग जोडिएकोले दरबन्दी अनुसारको प्रहरी नहुँदा केही समस्या भएको उनले बताए। एक जना प्रहरी निरीक्षकसहित ९५ जना प्रहरीको दरबन्दी हुनुपर्नेमा ४२ जना प्रहरी मात्र कार्यरत रहेको चौधरीले जानकारी दिए।