काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन्।
भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने आफूले सुनेकाले एउटै कर्मचारी एक वर्षभन्दा बढी नराख्न पनि निर्देशन दिए।
वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि अर्थमन्त्री महराले यस्तो निर्देशन दिभको उनका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए।
आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन पनि अर्थमन्त्री महराले निर्देशन दिए। विभागका महानिर्देशक ढुङ्गानाले अहिले कार्यरत कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको सो भेटमा जानकारी गराएका थिए। रासस