PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

इन्स्टिच्युटको डेलिगेसन होस् कि इन्टरपोलको प्रमको एउटै रटान : चिनियाँ राष्ट्रपतिको भ्रमण छिटो होस्



पहिलोपोस्ट

इन्स्टिच्युटको डेलिगेसन होस् कि इन्टरपोलको प्रमको एउटै रटान : चिनियाँ राष्ट्रपतिको भ्रमण छिटो होस्

काठमाडौँ : प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधे – चीनसँग मेरो सरकारको पालामा भएको सम्झौता के गर्नुहुन्छ?

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गरे लगत्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा भएको थियो। तर नेपालमा सरकार परिवर्तन लगत्तै चिनियाँ राष्ट्रपतिको भ्रमणमा अन्यौल बढेको टिप्पणी सार्वजनिक भयो। प्रचण्ड साउन २० गते प्रधानमन्त्री बने। लगत्तै उपप्रधानमन्त्री महरालाई विशेष दूत बनाई चीन पठाए। महराले चिनियाँ राष्ट्रपतिलाई नेपालका राष्ट्रपतिको तर्फबाट भ्रमणको निम्ता बुझाए। तर चिनियाँ राष्ट्रपतिको भ्रमणको कुनै टुङ्गो भएन। 

फलस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा आउने चिनियाँ भ्रमण टोलीहरुसँग राष्ट्रपतिको भ्रमणका लागि 'गुहार'को शैलीमा आग्रह गर्दै आएका छन्। २० साउनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई २५ साउनमा बालुवाटारमा पुगेर चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले भेटे। प्रचण्डले टोलीसँगको वार्तामा भने – 'चिनियाँ राष्ट्रपतिलाई छिट्टै स्वागत  गर्न पाउने अपेक्षा छ।'

प्रचण्ड प्रधानमन्त्री बनेको एक महिनापछि भदौ २२ गते पर्याप्त तयारी अभाव, वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर र केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव तीन कारण देखाउँदै चीनले भ्रमण स्थगित भएको समाचार प्रकाशित भयो। 

तर प्रधानमन्त्रीले भ्रमण स्थगित भएको विषय खण्डन गरे। उनले भने – चीनबाट पनि राष्ट्रपति आउने चर्चा चाहिँ हो, निर्णय भइसकेको थिएन भन्ने जानकारी मलाई छ। मेरो कार्यकालमा छिट्टै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने विश्वास छ।' 

लगत्तै प्रचण्डले गोवामा २९ असोजमा ब्रिक्स बिमिस्टेक बैठकको क्रममा साइडलाइनमा चिनियाँ राष्ट्रपतिसँग भेटे जसमा प्रचण्डले एउटै कुरा भने – तपाइँलाई नेपालमा स्वागत गर्न हामी आतुर छौँ। सीले समय मिलाएर भ्रमण गर्ने जवाफ फर्काए। 

सीसँग वार्तापछि पनि प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषय चिनियाँ सम्बन्धित वा गैरसम्बन्धित पक्षसँग उठाउन छाडेका छैनन्। 

प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको दिन लाजिम्पाट निवास पुगेर फुलगुच्छा दिने चीनका राजदूत वु चुन्ताई यसबीच बिदा भए। चिनियाँ राजदूत यू होङ नेपाल आइन्। ३० कात्तिकमा पहिलो शिष्टाचार भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराईदिन आग्रह गरे।
 
४ पुसमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ पोलिटब्युरो सदस्य लिउ छिपाओ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भयो। भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपतिको भ्रमणकै विषय उठाए। उनले यसपटक प्रयोग गरेको शब्द भने फरक थियो। प्रचण्डले छिपाओसित भने – 'चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न प्रतिक्षारत छौँ।'

बिहीबार नै प्रधानमन्त्री प्रचण्डसँग इन्टरपोलको सम्मेलनमा आएका इन्टरपोलको अध्यक्ष मेङ्ग होङ्वीसँगको  भेटमा प्रचण्डले सुरक्षाको विषय मात्र उठाएनन्। उनले भने – 'चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर छौँ।' होङ्वी चीनका हुन्।

जबकि इन्टरपोल अध्यक्षको राष्ट्रपति भ्रमणसँग केही सम्बन्ध हुँदैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell