PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​३३ देशका प्रहरी प्रमुखलाई भक्तपुरमा गाला डिनर,चन्द्रागिरीमा साइटसिन



पहिलोपोस्ट

​३३ देशका प्रहरी प्रमुखलाई भक्तपुरमा गाला डिनर,चन्द्रागिरीमा साइटसिन

काठमाडौं : इन्टरनेशल क्रिमिनल पुलिस अर्गनाइजेशन (इन्टरपोल) को एसियाली क्षेत्रीय संगठनमा सहभागी हुन आएका ३३ राष्ट्रका १ सय ३२ प्रतिनिधि अहिले काठमाडौंमा छन्।

बुधबारबाट शुरु भएको सम्मेलनमा अन्तराष्ट्रिय अपराधका आयाम र नियन्त्रणका उपायबारे छलफल चलिरहेको छ। उनीहरुको बाहिरी भेटघाट र मन बहलाउन आयोजक नेपाल प्रहरीले कार्यक्रमस्थल बाहिर घुमघाम र डिनरको समेत आयोजना गरेको छ।

बिहीबार इन्टरपोलका अध्यक्ष मेङगहोङग वीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरे। उनले बिहीबारनै नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालसँग छलफल गरेका थिए।

प्रहरी सहप्रवक्ता ठाकुर ज्ञवालीका अनुसार तीन दिने कार्यक्रमकाबीच सम्मेलनमा सहभागी अन्य देशका प्रहरी प्रमुख र प्रतिनिधिले अर्यालसँग भेट्ने कार्यक्रम छ।

सम्मेलनको कार्यतालिका अपराधको अन्तराष्ट्रिय आयामबारे कार्यपत्र प्रस्तुती र छलफलमा केन्द्रित भए पनि केही प्रतिनिधिले समय निकालेर घुमघाम गरिरहेका छन्। केही प्रतिनिधि आफ्नो भ्रमण लम्ब्याउने तयारीमा छन्। बिहीबार श्रीलंकाका प्रहरी प्रमुख लुम्बिनी घुमेर काठमाडौं फर्किएका छन्।

भक्तपुरमा गाला डिनर,चन्द्रागिरीमा साइटसिन

छलफलपछि निस्किएको समय सदुपयोग गर्दै नेपाल प्रहरीले कार्यक्रममा सहभागीलाई विहीबारनै भक्तपुरको दरवारस्क्वायरमा गाला डिनरको आयोजना गर्‍यो। नेपालको पुरातात्विक सम्पदा र मौलिक कला र संस्कृति देखाउन प्रहरीले डिनरका लागि भक्तपुर चयन गरेको हो। ठाकुरका अनुसार सहभागीहरु शुक्रबार काठमाडौं उपत्यका हेर्न चन्द्रागिरी जाँदैछन्।

ठाकुरका अनुसार सम्मेलनमा नेपालले मानवतस्करी, वन्यजन्तु अपराध र आतंकवाद सम्बन्धी कार्यपत्र पेश गरेको थियो। भारतले मनिलाउन्ड्रिङ नियन्त्रण सम्बन्धी आफ्नो अनुभव बाँडेको थियो। युएनओडिसीका प्रतिनिधिले वन्यजन्तु अपराधको प्रवृत्ति सम्बन्धी कार्यपत्र पेश गरेका थिए।

सम्मेलनमा लागुऔषध सम्बन्धी सिंगापुर र चीनका प्रतिनिधिले कार्यपत्र पेश गरेका थिए। बुधबार शुरु भएको २३ औं सम्मेलन शुक्रबार समापन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell