काठमाडौँ :खुकुरी च्यालेन्ज कप क्रिकेट–२०१७ रोयल पिसी फाइटरले कुपन्डोल क्रिकेट क्लबलाई पराजित गरेको छ।
भक्तपुरस्थित वीरेन्द्र सैनिक महाविद्यालयको मैदानमा बिहीबार भएको खेलमा रोयलले कुपन्डोललाई १ सय २४ रनको भारी अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रोयलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १९ रनको योगफल बनायो । दुई सय २० रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कुपन्डोल १९ ओभरमा ९५ रन जोड्दै अल आउट भयो ।
रोयलका जितमा इन्द्रकाम मानन्धरले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै रवीन जोशीले ४१ तथा नरेश चन्दले ३८ रनको योगदान दिए । यता कुपन्डोलका लागि भने अरविन चौधरीले ३२ तथा अजय ठाकुरले २१ रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रर्दशन गर्न सकेनन् । कुपन्डोललाई कमैमा जित्ने क्रममा रोयलका सन्दीप जोरा एक्लैले पाँच विकेट लिए भने इन्द्रकामले दुई विकेट लिए । सो जितसँगै दुई खेल खेलेको रोयलले चार अङ्क जोडेको छ भने एक खेल खेलेको कुपन्डोल अङ्कविहीन छ ।
खुकुरी इनटीको आयोजनामा भएको उक्त प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत १६ टोलीले प्रतिस्पर्धा गरेका छन् । रासस