PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आरुषि हत्याकाण्डमा दिल्लीमा मारिएका हेमराज परिवारको दुख : आर्थिक अभावमा पढाई छाडेर छोरा लागे दिल्लीतिर



पहिलोपोस्ट

आरुषि हत्याकाण्डमा दिल्लीमा मारिएका हेमराज परिवारको दुख : आर्थिक अभावमा पढाई छाडेर छोरा लागे दिल्लीतिर

अर्घाखाँची : घरमा ८१ वर्षीया आमा एक छोरा र एक छोरी छन् । १८ वर्षीय छोरा प्रज्वलले १२ कक्षा उत्तीर्ण गरे तर पढाइ खर्च नभएपछि अनि बाबुझै अहिले काम खोज्न दिल्ली पुगेका छन्।

रोजगारीका लागि भारत गएका श्रीमानको ज्यान मात्र गएन। झन्डै हत्यारा नै बनेका थिए। मृत्युपछि श्रीमानको नाम अपराधीको सुचीमा पर्नबाट त जोगियो। तर परिवारको भरथेग कसरी गर्ने हैरान छिन् खुमकला।

खुमकला । सन् २००८ मा भारतको दिल्लीमा भएको १४ वर्षिय किशोरी आरुषि तलवारसँगै मारिएका एक नेपाली हेमराजकी श्रीमति। आरुषीसँगै हेमराजको पनि ज्यान गयो। तर पाँच वर्ष उनको नाम अनुसन्धानको घेरामै थियो।

धन्न अनुसन्धानपछि हेमराज निर्दोष प्रमाणित भए। आरुषिको हत्यारा उनकै आमा-बाबु प्रमाणित भए। परिवार पाल्न कामको खोजीमा दिल्ली पुगेका हेमराज निर्दोष प्रमाणित भएकोमा नेपालमा रहेका उनका परिवार केही खुसी भए। तर अर्को दुखद पाटो उस्तै रह्यो हेमराज परिवारको।

'जो परिवार पाल्न परदेश गयो उसैको हत्या भयो,' उनले भनिन् ' अब हामीलाई कसले हेर्छ ? दुई छाक कसरी खाने ' ४९ वर्षीया खुमकलाले आँसु झार्दै भनिन् ।

खुमकलाका अनुसार हेमराज जिवितैहुँदा महिनाको ८ हजारसम्म पठाउँथे जसबाट उनको घर सहजै चल्थ्यो। हेमराजसँगै खर्च आउनेक्रम रोकियो।प्रारम्भमा त उनीनै शंकाको घेरामा रहेकाले जसोतसो चित्त बुझाए ।

जव अदालतबाट उनी निर्दोष प्रमाणित भए र हेमराजको हत्या समेत आरुषीकै परिवारले गरेको खुल्यो उनी केही क्षतिपूर्ती पाउने आशमा थिइन्। तर अझसम्म उनले केही सहयोग पाएकी छैनन्।

उनको छोराले १२ कक्षासम्म दुखसुख गरेर पढे। पैसा नभएपछि उनको पढाइ अगाडि बढ्न सकेन । उनी बाबुझै भारत पसे काम खोज्न र उतै छन् अहिले।

खुमकलाका भाइ अशोक भुसाल नेपालका मानवअधिकारकर्मी, मिडिया र सरकार कसैले पहल नगरेकोमा दुखी थिए।  रोजगारीका लागि काम गर्न बसेको घरकै साहुले हत्या गरेको प्रमाणितहुँदा समेत भारत सरकारले वास्ता नगरेकोमा उनीहरु दुखि थिए।

के हो आरुषी हत्या


सन् २००८ मे १६ मा भारतको दिल्लीसँगैको नोएडामा १४ वर्षिय आरुषीको हत्या भएको थियो। आफ्नै घरमा उनी मारिएकी थिइन्। प्रारम्भमा हेमराज वेपत्ता रहेको भन्दै उनीमाथीनै शंका भयो। दोस्रो दिन सोही घरको छतमा हेमराजको शव फेला परेको थियो।

हेमराजको शब फेला परे पनि हत्याको आशंका उनितिरै थियो। उनी सहित काम गर्न दिल्ली बसेका कृष्ण लगायतका अन्य नेपाली युवा मिलेर आरुषीको हत्या गरेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढेको थियो।

लामो अनुसन्धानपछि गाजियावादको सिबिआई विशेष अदालतले सन् २०१३ मा आरुषि हत्यामा उनकै आमाबाबु नुपुर र राजेश तलवारलाई दोषि ठहर गरेको थियो। फैसलापछि तलवार दम्पती जेलमा छन्। यता हेमराज परिवारको छटपटी जारी छ।
राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell