PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​देउवाले भने ‘स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्नुपर्छ’



पहिलोपोस्ट

​देउवाले भने ‘स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरावलोकन गर्नुपर्छ’

चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताएका छन्। 

काँग्रेस क्षेत्र नं ५ चितवनले पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिए। 

स्थानीय तह जनतालाई सहजताका लागि भएकाले उल्टो दुःख भयो भने जनतालाई मान्य नहुने बताउँदै उनले भने ‘दुई÷तीन दिन लगाएर सेवा लिन जानुपर्ने कत्तिको जायज छ।’
 
मधेसी जनताको भावनालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउँदै उनले पहाडी र मधेसीको बीचमा दरार पैदा गर्ने तत्वलाई चिरेर यो समस्याको समाधान गर्नुपर्नेमा जोड दिए। 

पूर्वप्रधानमन्त्री देउवाले भने ‘झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ । त्यसबाट नै देशमा स्थायी शान्ति हुन्छ।’ 

कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक विषयलाई आन्तरिक राजनीतिसँग जोडेर अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश प्रवाह भइरहेको बताउँदै जायज विषय तर्कसँगत ढंगले राख्न सकेमा विदेशीलाई विश्वस्त पार्न सकिने बताए। 

काँग्रेसका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्काे साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नका लागि आवश्यक पर्ने विधेयक संसदमा पेस गर्ने काम द्रुतगतिमा भइरहेको बताए। काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र गोविन्द भट्टराईले काँग्रेसमाथि छरिएका भ्रम चिर्दै असल राष्ट्रवादी काँग्रेस हो भन्ने कुरा जनमानसमा पु¥याउनुपर्नेमा जोड दिए।

सोही अवसरमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले तराई र दशगजामा रहेका नेपालीले स्वामित्व खोज्नुलाई अनर्थ लिन नहुने बताए। नेता प्रदीप पौडेलले संविधान संशोधन नेपाली कांग्रेसको पनि सम्झौता भएको बताए। 

सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल महिला संघ, नेपाल तरुण दल र नेविसंघका अध्यक्ष उमा रेग्मी, जितजङ्ग बस्नेत, नैनसिंह महरलगायतले अब आउने निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर संविधान कार्यान्वयन सहज बनाउन अनुरोध गरे। 

तीनदिने प्रशिक्षणमा काँग्रेसका क्षेत्रीय समिति, नगर समिति, वडा समितिलगायतका पदाधिकारी तथा सदस्य गरी तीन सय जनाको सहभागिता रहने काँग्रेस क्षेत्र नं ५ का सभापति लालबहादुर दवाडीले बताए।सहभागीलाई पुरुषोत्तम दाहाल, देवराज चालिसेलगायतले प्रशिक्षण दिनेछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell