
लखनउ (भारत) : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार एक विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ।
उच्च गतिमा रहेको ट्रक बससँग ठोक्किँदा भएको यस घटनामा परी अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी जाभेद अहमेदले बताएका छन्।
अर्का एक प्रहरी अधिकारी दलजित चौधरीका अनुसार बाक्लो कुहिरोका कारण दृश्यतामा आएको कमीले गर्दा सो दुर्घटना भएको हो। इताह सहरको एक विद्यालयमा अध्ययनरत ती बालबालिका ३ देखि १२ वर्षसम्मका रहेको बताइएको छ।
भारतमा गत वर्षमात्रै झन्डै एक लाख ५० हजार व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। यस दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्नु हुँदै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन्। रासस/एपी