1.jpg)
काठमाडौं : दुर्इ वर्षको प्रयासपछि कर्मचारी सञ्चय कोषले सुन्धारास्थित काठमाडौं मल नयाँ व्यक्तिलार्इ भाडामा दिन सफल भएको छ।
कोषले निर्माण गरेको यो मल लिजमा लिएका ललितपुर सानेपाका प्रवीरशमशेर जबराले समयमै भाडा चुक्ता नगरेपछि विवादका कारण सञ्चय कोषले नोक्सानी बेहोर्नुपरेको थियो। कोषले नयाँ टेण्डरपछि मलको पूरै संरचना भाडामा दिएको हो।
पुरानो भाडावाल प्रवीर राणाले भाडा नतिरेपछि कर्मचारी सञ्चय कोषले सार्वजनिक सूचना नै जारी गरेको थियो।
भक्तपुर तौलाछेँका शिवलक्ष्मी कोजूले १५ वर्षका लागि मल भाडामा लिएका छन्। मासिक २ करोड ७१ लाख रुपैयाँ कोषलार्इ भाडा बुझाउने गरी कोष र कोजूबीच सम्झौता भएको छ। सम्झौतामा कोषका प्रशासक कृष्णप्रसाद आचार्य र भाडावाल कोजूले हस्ताक्षर गरेका छन्।
सम्झौतामा प्रत्येक दुर्इ वर्षमा भाडा १० प्रतिशतले वृद्धि हुने उल्लेख छ। कोषले पहिला सम्झौता भएको राणासँगको भाडा सम्झौता तोड्दै गत वर्षको फागुनमा टेण्डर आह्वान गरेको थियो। नयाँ टेण्डर गरेपछि पहिलाका भाडावाल राणा अदालत समेत गएका थिए। तर अदालतमा आर्विटेरसमक्षसँग कागजात पेश गर्न नसकेपछि कोषको पक्षमा फैसला भएको थियो।
प्रमुख प्रशासक आचार्यका अनुसार राणाले भाडा तिरे पनि जरिवाना लगायतको आठ करोड रुपैयाँ भने तिर्न बाँकी छ। उनले तिर्न बाँकी भएको रकम असुल्न कोषले जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको जानकारी दिए।
राणाले समेत आफूले लिफ्ट लगायतको पूर्वाधार थपेको भन्दै १२ करोड रुपैयाँ पाउनुपर्ने भन्दै मुद्दामा गएका छन्। कोष र राणाबीच रकम असुल्ने बारेको विवाद नसल्टिए पनि मल भाडामा लगाउन भने कोष सफल भएको छ।
राणाले सञ्चय कोषलाई तिर्नुपर्ने बक्यौता रकम समयमै भुक्तानी नगरेको भन्दै सञ्चय कोषले उनीसँग २०६२ भदौ १ गते गरेको करारनामा भंग गर्दै कारबाही प्रक्रिया अघि बढाएको थियो।
राणाले धरौटी बापत राखेको बैंक ग्यारेन्टीबाट बक्यौता असुल गर्दासमेत बाँकी भाडा नउठेको र पटक पटक ताकेता गर्दा पनि बाँकी बक्यौता तिरेका थिएनन्। सम्झौता बमोजिम एक वर्षको अग्रिम भाडा वा बैंक ग्यारेन्टी पेश नगरेकाले करार भंग गरी सपिङ मल खाली गराउने प्रक्रिया अघि बढाइएको थियो। कोषले राणाले बैंक ग्यारेन्टी बापतको १९ करोड ५६ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ आफ्नो बनाइसकेको थियो।
राणाले कसरी लिएका थिए?
राणाले सञ्चय कोषका तत्कालीन प्रशासक शशिविक्रम राणाको कार्यकालमा २०६२ साल भदौ १ गते १५ वर्षका लागि काठमाडौं मल भवन लिजमा लिएका थिए।उनले त्यति बेला लिलाम बढाबढमा मासिक ६४ लाख ४४ हजार चार सय ४४ रुपैयाँ भाडा एकमुष्ट बुझाउने सर्तामा मल लिएका थिए। त्यो बढेर मासिक भाडा ७४ लाख पुगिसकेको थियो।
सञ्चय कोषको मल भाडामा लिएपछि उनले लिफ्ट जडान तथा पानी लगायतका सामग्रीको व्यवस्था गरेको भन्दै आफ्नो १२ करोड रुपैयाँ खर्च भएकाले कोषले उक्त रकम दिनुपर्ने दाबी गर्दै आएका थिए।
तर सञ्चय कोषले भने उक्त रकम दिने विषय करार सम्झौतामा उल्लेख नभएकाले आफूले दिनु नपर्ने दाबी गर्दै आएको थियो। काठमाडौं मलमा तीन सय पसल तथा अरु व्यवसाय सञ्चालनमा छन् ।