PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

इन्टरपोलको सम्मेलनमा आएका अतिथिलाई भक्तपुरमा स्वागत, गाला डिनरमा रक्सीको प्याला



पहिलोपोस्ट

इन्टरपोलको सम्मेलनमा आएका अतिथिलाई भक्तपुरमा स्वागत, गाला डिनरमा रक्सीको प्याला

  • रमेश गिरी
भक्तपुर : अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को २३औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आएका टोलीलाई भक्तपुरमा गएराति भव्य स्वागत गरिएको छ।
 
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरीको रुपमा विश्व प्रख्यात विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर परिसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा इन्टरपोलका टोलीलाई स्वागत गरिएको हो।
 
काठमाडौँमा सुरु भएको तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल आएका एसिया क्षेत्रका उच्च प्रहरी अधिकृतहरु, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाल प्रहरी, सुरक्षा निकायको उच्च पदस्थ अधिकारीहरुको समेत सहभागिता रहेको कार्यक्रममा इन्टरपोलको टोलीलाई नगरपालिकाले स्वागत गरेको थियो।
 
कार्यक्रमस्थलमा राखिएका बिभिन्न रङ्गका बत्तीले दरबार स्क्वायर परिसरमा रहेका प्रसिद्ध पचपन्न झ्याले दरबार, भूपतिन्द्र मल्लको सालिक, गोल्डेन गेट लगायतका संरचना आकर्षक देखिँदा सहभागी टोलीहरुले सम्पदाको खुलेरै प्रशंसा गरेका थिए।
 
कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको स्थानीय परम्परागत, ऐतिहासिक र धार्मिक महत्व बोकेको माक प्याखः नाच, देवी नाच, लाखे नाच लगायतका विभिन्न नाच हेर्दै मदहोस भएका टोलीले रात छिप्पिँदै गएको पत्तै पाएनन्।
 
कार्यक्रममा सांसद एवं भक्तपुर नगरपालिकाका पूर्व नगरप्रमुख प्रेम सुवालले इन्टरपोलका महासचिव जुर्गेन स्टकलाई भक्तपुरको चिनोस्वरुप मयूर झ्याल प्रदान गरेका थिए। राति करिब ९:३० बजेसम्म सञ्चालित सांस्कृतिक कार्यक्रम हेरेपछि कार्यक्रम स्थलमा गाला डिनर गराइएको थियो भने नेवारी परम्परा अनुसार प्यालामा रक्सी वितरण गरेर परम्पराको झल्को दिइएको थियो।रासस/फोटो  : @ibkarki



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell