- कविता उपाध्याय
आइडिई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजा लगायतका सुगन्धित तेलको उत्पादन हुँदै आएको छ। यसरी जिल्लामा उत्पादित तथा प्रशोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका व्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ।
मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रशोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन्। हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ। जडिबुटी खेती तथा प्रशोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन्।
मिझिङ–७, छिर्नेमा करिब पाँच लाख मूल्य बराबरको मेसिन राखिएको भए पनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ। डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ।
मिझिङ–६ छिर्ने, रोल्पाका रुपलाल महराका अनुसार मेन्थाबाट सोचेअनुसार आम्दानी हुन सकिरहेको छैन तर तीतेपातीबाट मनग्य आम्दानी हुँदै आएको छ। खेर गइरहेको तीतेपातीबाट सोचेभन्दा बढी आम्दानी भएपछि दैनिकी नै फेरिन थालेको मिझिङ–९ रोल्पाका गोवर्द्धन महरा बताउँछन्।
वन जङ्गलमा खेर गइरहेको जडिबुटी सङ्कलन गरी बजारीकरण गर्न पाउँदा फुर्सदको समयको सदुपयोग पनि हुने र दैनिक खर्च चलाउनका लागि आम्दानी पनि हुने भएपछि हर्षित भएका छन्। तर यो कार्यक्रम २०७३ फागुनसम्म मात्र रोल्पामा सञ्चालन हुनेछ।
हाल दाङ, बाँके र रोल्पा जिल्लामा सञ्चालनमा रहेको कार्यक्रमको रोल्पा जिल्लामा समयावधी थप गर्नुपर्ने सम्वन्धित जडिबुटी खेतीमा आबद्ध किसानहरुको माग छ।रासस