कोहलपुर (बाँके) : नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ।
नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन्।
आगलागीबाट अनिशाका स्तन, मुख र टाउको जलेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए। 'आपसी विवादका कारण गएराति बलिरहेको टुकीले श्रीमान्ले श्रीमतीलाई आगो लगाएको देखिन्छ,' गौतमले भने, 'घटना भएलगत्तै प्रहरीले भेरी अञ्चल अस्पतालमा उपचारका लागि अनिशालाई ल्याएकाले उपचारमा सहज भएको छ।'
गम्भीर घाइते अनिशाको शरीरको ५० प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ। अभियुक्त राजेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ।रासस