PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​नेपाल प्रहरीका एआइजीले भने- 'आतंकवादी गतिविधि छैन भनेर ढुक्क बस्ने अवस्था रहेन'



पहिलोपोस्ट

​नेपाल प्रहरीका एआइजीले भने- 'आतंकवादी गतिविधि छैन भनेर ढुक्क बस्ने अवस्था रहेन'

काठमाडौं : दुबईमा रहेका एक नेपाली नागरिकले नेपाली र भारतीयलाई परिचालन गरेर आतंकवादी समूह चलाएको सार्वजनिक भएकै बेला नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले 'नेपालमा आतंकवादी गतिविधि भएको छैन भनेर ढुक्क बस्न सक्ने अवस्था नभएको' बताएका छन्।

३३ देशका कानुन कार्यान्वयन गर्ने निकायका प्रतिनिधि काठमाडौंमा भेला भएर आतंकवाद र संगठित अपराध नियन्त्रणमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने मन्थनमै रहेको बेला दुबईमा बस्दै आएका समसुल हुद्दाले नेपाली र भारतीय नागरिक सहितको आतंकवादी समूह बनाएर भारतमा रेल्वे ट्रयाकमा बम पड्काउने योजना बनाएको सार्वजनिक भएको थियो।

इन्टरपोलको २३ ‌औ एसिया क्षेत्रीय सम्मेलन समापनपछि आयोजित कार्यक्रममा उनले कार्यक्रममा आतंकवाद गतिविधि र नेपालमा रहेको जोखिमबारे छलफल भएको जानकारी दिँदै भने, 'नेपाल शान्त देखिएको र यहाँ अलकायदा आइएसआईको गतिविधि नदेखिए पनि उनीहरुको उपस्थिति हुन सक्दैन भनेर ढुक्क हुन सकिँदैन।'

नेपालमा आतंकवादी संगठनसँग जोडिएका व्यक्ति फेला परेको पहिलो होइन। तर नेपाली नागरिकले नै आतंकवादी योजना बनाएर समूह नै परिचालन गरेको खुलेको पहिलो हो। यसअगाडि पोखरामा भारतीय अलकायदा मानिने इन्डियन मुज्जाहिद्दीनका संस्थापक मध्येका एक यासिन भट्कल सहयोगी सहित फेला परेका थिए।

भारतले खोजी गरिरहेका उनी पोखरामा मोबाइल पसल सञ्चालक र प्राचीन पद्धतिबाट रेगको उपचार गर्न सक्ने हकिमको आवरणमा बसेको खुलेको थियो।

इन्टरपोलले सम्मेलनताका जारी गरेको विज्ञप्तिमा आतंकवादी गतिविधिमा सक्रिय अन्तरराष्ट्रिय संगठनबाट तालिम प्राप्त १५ हजार विदेशी लडाकु एसियाका लागि खतरा रहेको उल्लेख गरेको थियो।

अपराध अनुसन्धान विभागका प्रमुख शर्माले पनि शुक्रबारको पत्रकार सम्मेलनमा आतंकवादी तालिम पाएका विदेशी लडाकुले नेपालमा आश्रय लिएर बस्ने सक्ने, कामका लागि विदेश गएर नेपाल फर्किदा र्‍याडिकलाइज भएर फर्कन सक्ने लगायतका जोखिम देखिएको र सो पाटोमा अन्तर्राष्ट्रिय संगठनसँगको सहकार्यमा काम गर्ने बताए।

'नेपालमा आतंकवाद नियन्‍त्रण सम्बन्धी कानुन छैन भन्दा सम्मेलनमा सहभागीहरु हाँसे, 'शर्माले भने, 'उनीहरुले नेपाल शान्त छ तर विदेशमा आतंकवादी समूहबाट तालिम लिएका लडाकु छरिएर बसेकाले ढुक्क हुन सक्ने अवस्था छैन भने।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell