PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

सत्तापक्षका सांसद् नै सोध्छन्- 'खै कहाँ छ सरकार?'



रमेश वाग्ले

सत्तापक्षका सांसद् नै सोध्छन्- 'खै कहाँ छ सरकार?'

काठमाडौं : सत्तारुद्ध कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुले नै संसद्मा सरकार खोजेका छन्। कांग्रेस सांसद् महालक्ष्मी उपाध्याय डिना र माओवादी केन्द्रका सांसद् रामनारयण विडारीले हेटौंडाका जनता सरकारविहीन भएको बताए।
 
हेटौंडामा सडक विस्तारका नाममा सरकारले मानवअधिकार विरुद्ध हुने काम गरिरहेको भन्दै त्यसलाई रोक्न उनीहरुले माग गरेका छन्। 'हेटौंडा बजार सरकारविहीन भएको छ। अस्तव्यस्त भएको छ। जनता लाचार भएका छन्,' कांग्रेस सांसद् डिना उपाध्यायले भनिन्, 'सुत्केरीलाई डोजर चलाएर निकालिएको छ, सामान्य मानवअधिकारको समेत ख्याल गरिएको छैन।' जनताले कर तिरिरहेको, केही दिनअघि सम्म बिक्री वितरण भइरहेको घरजग्गामा एकाएक डोजर चलाइएको उनले बताइन्।
 
सडक ऐन २०३४ ले रोकेको भए २०५२ सालमा सुकुमबासीलाई कसरी जग्गा वितरण गरियो भन्दै उनले प्रश्न गरिन्, 'जग्गा पास कसरी भयो? केही दिनअघि सम्म बिक्री वितरण कसरी सम्भव भयो?'
 
उनले सर्वोच्च अदालतबाट स्टेअर्डर लिएका बसेका जनताको घर समेत भत्काएर कानुनी राज्यलाई चुनौती गरेको बताइन्।
 
सत्तारुद्ध माओवादी केन्द्रका सांसद् रामानारायण विडारीले पनि हेटौंडामा सरकार नभएको गुनासो गरे। विडारीले बाटो विस्तारको नाममा सबै सम्पत्ति लगानी गरेर घर बनाएकाहरुलाई सुकुम्बासी बनाउने काम गरिएको आरोप लगाए। 'सरकारले लिँडेढिपी गरेर स्थानीय वास्तविकता नबुझी बाटो विस्तार गरिरहेको छ,' विडारीले भने, 'जीवन र सम्पूर्ण सम्पत्ति लगानी गरेर निर्माण गरेको घर भत्काउँदा उसलाई क्षतिपूर्ति दिनु पर्दैन?' सरकारले न्याय दिनुपर्नेमा सुकुम्बासी उत्पादनमा लागेको उनको भनाइ थियो।
 
सरकारले आतंक सिर्जना गर्‍यो : प्रतिपक्ष
एमाले सांसद् अन्नत पौडेलले सडकबोर्डले लगतकट्टा समेत नगरेको सरकारले १६ दिने सूचना दिएर डोजर चलाउन गएको बताए। 'सडक बोर्ड ऐन ३०३४ सालमा आयो, त्यसपछि किनबेच भएका छन्। सडकले लगतकट्टा समेत गरेको छैन,' पौडेलले भने, 'त्यसो भए त्यो जग्गा सडकको कसरी भयो?' उनले त्यति हुँदाहुँदै पनि जनताले मुआब्जा दिएर बाटो विस्तार गर्न भनेको भन्दै त्यसलाई ध्यान दिएर अघि बढ्न आग्रह गरे।
 
सरकारले १५ दिने सूचना दिएर आतंक फैलाएको भन्दै उनले प्रश्न गरे, '१५ दिनभित्र घर खाली गरेर कसले दिन सक्छ?' स्थानीय राजनीतिक दल र जनता कोही पनि सडक यत्तिकै  विस्तार गर्ने अवस्थामा नरहेको भन्दै त्यही कारण हेटौंडामा बुधबार झडप भएको बताए।
 
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा सर्वसाधारणका घर भत्काएको स्थानीयवासी  विरोध उत्रिँदा त्यहाँ झडप समेत भएको थियो।
 
मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने भन्दै सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा पार्न सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ भवन भत्काएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell