PahiloPost

Sep 27, 2020 | ११ असोज २०७७

कान्तिपुर गाथा : डस्टमाण्डूमा जारी छ चमत्कार



किशोर नेपाल

कान्तिपुर गाथा : डस्टमाण्डूमा जारी छ चमत्कार

कान्तिपुर शहर अहिले धूलाम्मे छ। काठमाडौं, यसको अर्को नामलाई बिगारेर, डस्टमाडौं भन्न थालेका छन मानिसहरु। धूलो पनि के र! अचम्मैकै बाक्लो छ– पूरै ज्वालामुखी पहाड फुटेर निस्किएको लाभा जस्तो। आँखामा परे आँखै नदेखिने, कानमा परे कानै स्याउस्याउ गर्ने र मुखमा परे जिब्रो नै ल्याचल्याच गर्ने।
 
कान्तिपुरमा पानीको भल र फोहोरको ढल सँगसँगै गाडिएकोले ढल फुटेर पानीको भलमा मिसिने अथवा पानीको भल फुटेर ढलमा मिसिने गरेको समाचार त उहिल्यै आएको हो। ढल र भलको मिश्रणपछि ‘इ–कोली’ पानीमा मिसिएर पानी दूषित हुने गरेको तथ्य उहिल्यै फेला परेको हो। अब यसको करेक्सन केही समयपछि आउने मेलम्चीको पानीले गर्ने आशा छ। वर्षौंवर्षदेखि ‘इ–कोली’ मिसिएको पानी पिइरहेका कान्तिपुरवासीलाई शुद्ध पानी पिलाउने मौका पाएर देशको सरकार कति हर्षित होला, कसैले अन्दाज गर्न सक्दैन।
 
मेलम्ची खानेपानी ‘ऐतिहासिक’ महत्त्वको आयोजना हो। यो आयोजनाको निर्माण कहिले, कुन जलमन्त्री, कुन प्रधानमन्त्री र कुन राजाको पालामा, विक्रम संवत् कति सालमा शुरु भएको थियो? हालका जलमन्त्री र प्रधानमन्त्रीलाई पक्कै थाहा छैन। विकासशील र गतिशील देशमा कति आयोजना शुरु हुन्छन् हुन्छन्; मन्त्री, प्रधानमन्त्रीले ती सबैको नाम–नामेसी र विवरण राखेर साध्ये पनि त लाग्दैन। उसै पनि मन्त्री र प्रधानमन्त्रीको काम शिलान्यास र उद्घाटन गर्ने, ठेकेदार प्रजातिबाट चुनाव खर्च उठाउने, आयोजनामा आएको सबभन्दा राम्रो र सबभन्दा नयाँ मोटर आफ्नो निजी प्रयोगका लागि तान्ने र आफ्ना कार्यकर्तालाई जागिर खुवाउने मात्रै हो।
 
सरकारले मेलम्ची आयोजना मार्फत २०७४ सालको बडादशैंसम्म कान्तिपुरवासीलाई गुहूमुत केही नमिसिएको मेलम्ची नदीको शुद्ध पानी खुवाउने लक्ष्य लिएको छ। खन्न बाँकी र जोड्न बाँकी सुरुङ खन्न नभ्याइएको र जोड्न नसकिएको अवस्थामा भने त्यो लक्ष्य नेपालको संविधानजस्तै कार्यान्वयनमा धराशायी हुनेछ। नेपाल हिमाल, पहाड, तराईको देश भएकोले होला यहाँका आयोजनाहरुमा भड्खालो बढी छन् भने भड्खालो विशेषज्ञहरु धेरै कम छन्। बिजुली अड्डामा परेको ठूलो भड्खालो त कुलमानले पार गराए। अब यो पानी अड्डामा पर्ने भड्खालो कुन मानले पार लगाउने हुन्। मेलम्चीको पानीको बाटामा आइपर्ने भड्खालो पार गराउन सक्ने कुनै मर्द अहिलेसम्म धर्तीमा परिलक्षित हुन सकेका छैनन्। यस्ता मर्द कति चाहिने हुन्? हिसाब गरेर कुलमानको क्लोनिङ गरिहाले बेस होला।
 
कान्तिपुरको धूलोबाट कान्तिपुरवासी कहिलेसम्म अमलेख होलान्? प्रश्नको जवाफ यसै दिन सकिँदैन। मेलम्चीले आफनो थाप्लोमा परेको धूलोको जिम्मा सडक विभागलाई लगाइसक्यो रे। तैपनि, धूलोले मानिसहरुको बिजोग गरेको देखेर धूलो उडेका ठाउँमा बिहान–बेलुका पानी छरेर आयोजनाले आफनो कर्तव्य निर्वाह गरेको छ रे। कस्तो राम्रो कुरा। बिहान-बेलुका अफिस टाइममा यसो पानी छरछार पार्‍यो। अफिस जाने-आउने कर्मचारीलाई सुख–सन्तोषको कुरा भइगयो। दिउँसो सडकमा गाडी मात्रै हिँड्छन्। मानिस हिँडेका छन् भने तिनको गणना गर्नै पर्दैन। वर्षौंवर्षदेखि इ–कोली मिसिएको पानी पिएर तिनीहरुको मगज भुत्ते भइसकेको छ। धूलोले तिनको नाक, मुख र आँखा लगायतका सबै इन्द्रिय छोपिए पनि खासै फरक पर्नेवाला छैन। शहरवासीको विरोध, प्रदर्शन र जुलुसले केही लछारपाटो लाउन सक्दैन। त्यो हिजो पनि देखिएकै कुरा हो।
 
धूलो नउड्ने पीच रोड कहिलेसम्म बन्छ? सडक विकासको आफ्नै तालिका छ। शहरी विकासको आफनै कार्यक्रम छ। महानगरपालिकाको आफनै कार्यक्रम छ। महानगरपालिकाका ज्यामीहरु सडकपेटीका पुराना स्ल्याब उप्काउँदै नयाँ स्ल्याब हाल्न व्यस्त देखिँदैछन्। ती पुराना स्ल्याब भत्केर वा बिग्रेर फेरिएको होइन। यो त काठमाडौं महानगरपालिकाको आफनै कार्यक्रम हो, जुन रोकिन सक्दैन। पुरानो सडकपेटीले शहरलाई फोहोर देखाउँछ। नयाँ स्ल्याबको प्रयोगले शहरको चमक र कर्मचारीको खल्तीको तमक दुवै बढाउँछ।
 
देश विकासशील छ। प्रत्येक दिन विकासका एक न एक चमत्कारहरु भइरहेकै छन्। अहिलेको पोजिसन भनेको टोपी जसको पालामा बनेको भए पनि लाएको सरकारले नै हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell