
काठमाडौँ : गएको मंसिर ६ गते राप्रपा नेपाल र राप्रपा एकीकरण घोषणाको दिन कार्यक्रम सञ्चालन गरेकी गायिका तथा रेडियो नेपालकी वरिष्ठ समाचार सम्पादक कोमल वली पार्टी प्रवेश गरिन्। उनलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर राप्रपा पार्टी प्रवेश गराए। अनि अर्का अध्यक्ष पशुपतिशमशेर राणाले पनि माला लगाएर स्वागत गरे।
वलीको पार्टी प्रवेशले राप्रपामा 'ग्ल्यामर' थप्यो। २७ मंसिरमा नायिका रेखा थापा पनि राप्रपा प्रवेश गरिन्। वलीको प्रवेशले राप्रपाको चर्चा चुलिएकै थियो, अझ नायिका थापा प्रवेशसँगै सामाजिक सञ्जालमा राप्रपाबारे व्यापक टीकाटिप्पणी भए।
माइक्रो ब्लगिङ् साइट ट्विटर प्रयोगकर्ताले चर्चालाई हल्का रुपमा मात्र लिएनन्। एक प्रयोगकर्ताले हेलो सरकारलाई मेन्सन गरेर वलीको पार्टी प्रवेशबारे जिज्ञासा राखे। जिज्ञासा सञ्चार मन्त्रालय हुँदै रेडियो नेपाल पुग्यो। रेडियो नेपालले वलीलाई स्पष्टिकरण सोध्यो।
माघ ५ गते वलीले स्पष्टिकरण बुझाइन्। उनले लेखिन् – मैले हालसम्म नेपालमा रहेका कुनै पनि राजनीतिक दलको वैधानिक सदस्यता नलिएको ब्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउँदछु। आफू सञ्चारकर्मी भएको नाताले सबै राजनीतिक दलको निम्तो बमोजिम कार्यक्रमहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने गरेको ब्यहोरा सहर्ष जानकारी गराउँदछु।
@sir_rosan तपाइले श्री कोमल वली र राप्रपा पार्टीसंगको सम्वन्धको वारेमा सोधिएको प्रश्नको जवाफ पठाएका छौ ।
— Radio Nepal (@radionepal) January 20, 2017
रेडियो नेपाल pic.twitter.com/pYMTfiAaUT
वलीले स्पष्टिकरण दिएको दुई दिन नबित्दै शुक्रबार राप्रपाको सदस्यता मात्र लिइनन्, सिधै केन्द्रीय सदस्य मनोनयन पत्र लिइन्, अध्यक्ष कमल थापाको हातबाट। यहाँ प्रश्न उठ्छ - के साधारण सदस्य नभएको व्यक्ति राप्रपाको सिधै केन्द्रीय सदस्य हुनसक्छ? वा कोमल वलीले सदस्यताको विषयमा रेडियो नेपालमा दिएको स्पष्टिकरण झुटो थियो?
सत्य जे भएपनि कोमल वली राप्रपाको केन्द्रीय सदस्य बनिसकेकी छिन्। केन्द्रीय सदस्य बनेसँगै वली महाधिवेशन आयोजक समिति सदस्य समेत बनेको राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठले बताए।

