PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

श्रीमानले मट्टितेल छर्केर आगो लगाउँदा अनिसाको अवस्था गम्भीर, पैसा नभएपछि उपचारमै समस्या



रासस

कोहलपुर (बाँके) : आफ्नै श्रीमानले लगाएको आगोबाट गम्भीर घाइते भएकी नेपालगन्ज–१२ बाँकेगाउँ खट्नपुरुवाकी २२ वर्षीया अनिसा खटिकको उपचारमा समस्या भएको छ।
 
बिहीबार राति श्रीमानले लगाएको आगोबाट ५० प्रतिशतभन्दा बढी जलेर गम्भीर घाइते अनिसालाई थप उपचारका लागि राजधानी लैजानका लागि चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण अहिलेसम्म अन्यत्र रिफर गर्न नसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए।
 
'छुट्टिएर बसेकी सासूले बुहारीलाई कुरिरहेकी छिन्,' प्रहरी निरीक्षक राजन गौतमले भने, 'घटनाका विषयमा महिला तथा बालबालिका कार्यालय, बाँकेकी महिला विकास अधिकृतलाई जानकारी गराए पनि अनिसाको थप उपचारका लागि अन्यन्त्र लैजाने विषयमा कहीँ कतैबाट अहिलेसम्म चासो देखिएन।'
 
आगलागीबाट अनिसाको स्तन, मुख र टाउको जलेको छ। बिरामीको घाँटी भित्रैसम्म आगोका कारण असर परेको उपचारमा संलग्न भेरी अञ्चल अस्पतालका वरिष्ठ सर्जन डा रुपानन्द अधिकारीले बताए। ५० प्रतिशत भाग जलिसकेकाले घाँटी सुन्निएका कारण जति सक्यो चाँडो टिचिङ हस्पिटल (काठमाडौँ) मा लग्न पनि उनले सुझाव दिएका छन्।
गम्भीर घाइते अनिसाकी डेढ वर्षकी छोरी काखमा च्याप्दै अनिसाकी सासूले भनिन्, 'बाहिर उपचार गर्नका लागि हामीसँग पैसा छैन, कसैले सहयोग गरिदिए मेरी बुहारी बाँच्ने थिइन्।'
 
घाइते अनिसाको उपचारका लागि महिला तथा बालबालिका कार्यालय बाँकेलाई निर्देशन दिइसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए।
 
नेपालगन्ज उपमहानगरपालिका–१२ बाँके २५ वर्षीय राजेन्द्र खटिकले आफ्नै २२ वर्षीया श्रीमती अनिसालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाइ मार्ने प्रयास गरेका थिए। उनी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय, नेपालगन्जले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell