बाबियाचौर (म्याग्दी) : नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन्।
प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताए।
'सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको वातावरण बन्छ,' सचिव ज्ञवालीले भने।
संविधान कार्यान्वयनका लागि आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबैले जितेको अनुभूति हुने गरी समझदारी कायम गराउन पहल भइरहेको सचिव ज्ञवालीले जानकारी दिएका छन्।
'संविधान जारी गर्ने बेलामा एक ठाउँमा उभिएका राजनीतिक शक्तिबीच समझदारी बनेमा मधेसवादी दल असहमतिका बाबजुद पनि निर्वाचनमा सहभागी हुन्छन्,' सचिव ज्ञवालीले भने, 'सरकारले स्थानीय तह, प्रदेश र राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ।'
संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भएको भन्दै उनले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने बताए। अनुचित तवरले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने र हुन नदिने पनि सचिव ज्ञवालीले दाबी गरे।रासस