जुम्ला : नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश कर्णालीका इञ्चार्ज शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने बताएका छन्।
प्रेस सेन्टर जुम्लाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा इञ्चार्ज बस्नेतले नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइने बताए।
'मानसरोवर समेत जोड्ने परिकल्पनाबाट आयोजना सम्पन्न गर्न सकिएमा जुम्ला कर्णालीको आधार शिविर बन्छ, साथै पूर्व–पश्चिम राजमार्गलाई रारातालसम्म पुग्नका लागि ६/७ घन्टामा सीमित गर्न सकिन्छ,' उनले भने, 'त्यसका लागि टनेल मार्गका रुपमा निर्माण गर्न पहल गर्न जरुरी छ।'
पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले मुलुक परिवर्तनको विभिन्न कालखण्डमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको बताए।
स्थानीय तहको निर्वाचन कहिले भन्ने पत्रकारको जिज्ञासामा उनले सरकारले स्थानीय तहको चुनाव जेठसम्म गर्ने बताए। स्थानीय तहको स्वरुप कस्तो हुने भन्ने विषयमा सङ्ख्या तथा सीमा निर्धारण आयोगको प्रतिवेदनले प्रष्ट्याउने जानकारी दिँदै उनले भर्खरै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगको प्रतिवेदन बुझेको जानकारी गराए।रासस