तेह्रथुम : तेह्रथुमको थोक्लङ गाविसका महिलाले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ। महिलाले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकासमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो।
गाविसको लक्षित वर्ग तर्फको बजेटले निर्माण थालिए पनि थप आशा गरिएका गाविस, जिविस र अन्यत्र कतैबाट पनि बजेट नदिइँदा निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको महिला अधिकार मञ्चकी अध्यक्ष विष्णुकुमारी कन्दङवाले बताए।
गाविसबाट दिइएको दुई वर्षको बजेटले घडेरी सम्याएर गाह्रो थाल्न मात्रै पुगेको महिला नेतृ देवीमाया भुजेलले बताइन्। ‘हप्तैपिच्छे केही न केही कार्यक्रम पर्छन्, उनले भनिन्, ‘तर सबै कार्यक्रम सामुदायिक भवन र विद्यालयमा गर्नुपर्दा असजिलो हुन्छ।’ कार्यक्रम जुध्दा महिलाका कार्यक्रम बाहिरै गर भन्ने गरिएको उनको गुनासो छ। 'त्यही भएर भवन बनाउन त लागियो तर कसैले पनि सहयोग गरेन, भवन निर्माण अलपत्र परेको छ,' उनले भनिन्।
भवन निर्माणका लागि बजेट माग गरे पनि पहुँच नपुग्दा समस्यामा परेको उनको भनाइ छ। भवन गाउँ पारालिगल, महिला सशक्तिकरण सञ्जाल र महिला अधिकार मन्चले मिलेर निर्माण थालेका हुन्।
भवन बनाउन सभासदहरुलाई समेत बजेट माग गरिए पनि सुनुवाइ नभएको महिलाको गुनासो छ। भवन बनाउन अहिलेसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको छ।रासस