PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

ट्र्याक्टर दुर्घटनामा ८ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते



पहिलोपोस्ट

खोटाङ : ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
 
दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको हो।
 
दुर्घटनामा सोही स्थानका अढाई वर्षीय आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षीय दिनेश राई गम्भीर घाइते भएका छन्। घाइते दुवैको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हवाईजहाजमार्फत खानीडाँडा विमानस्थलबाट बाहिर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ।
 
घटनास्थलमै मृत्यु भएकी बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ। दुर्घटनापछि ट्र्याक्टर चालक दिक्तेल नगरपालिका–१० का १९ वर्षीय रञ्जन राई फरार रहेका प्रहरीले जनाएको छ।
 
दिक्तेल नगरपालिका–१ स्थित हाटडाँडाबाट ढुङ्गा लिएर लफ्याङ गएको ट्र्याक्टर ढुङ्गा झारी सकेपछि फर्कने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन्। साँघुरो बाटो रहेको सो ठाउँमा ट्र्याक्टर मोड्दा ठाउँ अभावमा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए।

सामान लोड गरिने डाला सडकमै रहेको ट्र्याक्टरले मृतकलगायत तीनै जनालाई किचिरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका थिए।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell