बैतडी : बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्देशिका विपरीत छनोट गरिएका छन्।
सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन्। गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल केसीले बताए।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदले रु तीन करोडका योजना छनोट गर्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसदले रु ५० लाख बराबरका योजना छनोट गर्नसक्ने प्रावधान रहिआएको छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका भएपनि सो निर्देशिका अनुसार सांसदले योजना छनोट गर्न नमान्ने गरेको जिल्ला विकास समितिका कर्मचारीले बताएका छन्। निर्देशिका अनुसार रु तीन करोडका योजनामा कम्तीमा रु ४० लाखको एक योजना हुनुपर्ने र अन्य योजना रु १० लाखका हुनुपर्ने हुन्छ।
यस्तै, योजना बढीमा २५ वटा हुनुपर्ने हुन्छ। निर्वाचन क्षेत्र विकास कार्यक्रममा योजनाको सङ्ख्या २० हुनुपर्ने, एउटा योजना कम्तीमा रु १० लाख र अन्य योजना रु एक लाखभन्दा कमका हुन नहुने प्रावधान रहेको जिल्ला विकास समिति, बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले बताए। तर निर्देशिकामा त्यसो भए पनि सांसदले छनोट गरेको योजनामा निर्देशिका विपरीत योजना आएका उनले बताए।
बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रममा दुवैमा सांसदले योजना छनोट गर्दा निर्देशिका लत्याएको पाइएको छ।
योजनाको सङ्ख्या निर्देशिका अनुसार भएपनि त्योभित्र धेरै ठाउँका मन्दिर, विद्यालय, सडकलगायतलाई बजेट छुट्याएर योजना छनोट गरेको छ। जिल्ला विकास समितिले सार्वजनिक गरेका निर्वाचन क्षेत्र विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनामा धेरै विद्यालयलाई एकै योजनामा समेटेर बजेट छुट्याएको छ।
यस्तै, सांसदले योजना छनोट गर्दा गाउँपरिषद्, इलाका परिषद्, जिल्ला परिषद्ले पारित गरेको योजनालाई प्राथमिकता दिनुपर्ने भए पनि धेरैजसो योजना नेताले मनलाग्दी हिसाबले छनोट गरेका छन्।
बैतडीमा प्रत्यक्ष निर्वाचित सांसदका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु छ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अढाइ करोड गरी साढे आठ करोडका योजना छनोट गरिएका छन्।
बैतडी क्षेत्र नं १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आवमा सांसद आरजु राणा देउवाले रु ५० लाख छुट्याएकाले रु ५० लाख थप बजेट आएको हो।