
महोत्तरी : कठ्यिाङ्ग्रिदो जाडोको परबाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ।
बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ। पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर) का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गरेको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन्।
हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ। ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ। पिलिन्थ लेवलसम्मको पाँचवटा घरको निर्माण कार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताए। श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, सङ्घ संस्थाका पदाधिकारी आउने क्रम जारी छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन्।
बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताए।
‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्,’ उनले भने, 'कोही सिमेन्ट घोल्छन्। कोही बालुवा, ढुङ्गा, गिट्टी ओसार्छन्। कोही गाउँलाई काममा खटाउँछन्। यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौं।'
सामाजिक अभियन्ता आरके महतो बाढीपीडित, भूकम्पपीडित, आगलागीपीडित सबैले राहत र सहयोग पाइरहेको बताए।रासस