28.jpg)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्म निरपेक्षता ऐच्छिक भए पनि मुस्लिम समुदायको निम्ति जीवन मरणकै विषय भएको बताएका छन्।
मुस्लिम मुक्ति मोर्चाले आज राजधानीमा आयोजना गरेको 'धर्मनिरपेक्षता र अन्य मुस्लिम मुद्दा' विषयक अन्तरक्रियामा बोल्दै उनले धर्म निरपेक्षताको मुद्दा र मुस्लिम समुदायको मुक्ति अन्यन्य रुपले गाँसिएको बताए। संविधानमा मुस्लिम समुदायको समानुपातिक समावेशीका कुरा लेखिए पनि अरु उत्पीडित समुदायको जस्तै मुस्लिमलाई पनि चाहिने अरु बढी आवश्यक कुरा नलेखिएको उनले बताए। 'हामी आवश्यकता अनुसार संशोधन गर्नेछौं भनेर नै संविधान जारी गरिएको हो,' उनले भने, 'संविधानमा निरन्तर संशोधन गर्दै जनताका आवश्यकता र भावना अनुसार परिमार्जन गर्दै लगिने भनिएकाले नै मुस्लिम, दलित, आदिवासी, जनजाति, महिला, उत्पीडित समुदायको पूर्ण भावना संविधानमा व्यक्त भएको छैन यो अपुरो छ।'
आफू प्रधानमन्त्री हुँदा नै संविधान संशोधन मार्फत नेपाली जनता हकअधिकार थप गर्ने प्रतिबद्धता जनाएको पनि उनले स्मरण गरे। 'यसकारण मैले संशोधनमा एउटा समुदायको मात्र कुरा गरेको होइन। संघीय आयोगमार्फत संविधानलाई परिमार्जन गर्ने र उत्पीडितको हक अधिकार थप्दै लैजाने कुरा पनि छ,' उनले भने।
नेपालको इतिहासमा ठूला आन्दोलन, क्रान्ति र राजनीतिक परिवर्तनका घोषणा भए पनि विस्तारै ती मुद्दा ओझेलमा पर्दै जाने र संस्थागत नहुने अवस्था रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। 'राज्यको कार्यशैली, संयन्त्र, संस्कृति र नेतृत्व प्रणाली पुरानै रहने र त्यसले परिवर्तनका मुद्दा निल्दै जाने प्रवृत्ति छ,' उनले भने, 'अन्तत १०/१२ वर्ष बितेपछि पुन: पहिलेकै अवस्थामा पुग्ने कारण परिवर्तनले मूर्त रुप पाउन नसकेको हो।'
उत्पीडित समुदायको मुद्दाबाट माओवादी नै विचलित भएको हो कि भन्ने आफूलाई कुनै बेला शंका लागेको पनि उनले बताए। 'म कबुल गर्छु, तपाईंहरुको मुद्दा र सबै उत्पीडित जनताको मुद्दामा म विचलित हुनेछैन।,' उनले प्रतिबद्धता जनाए।