काठमाडौं : सँगै जिउने मर्ने र दुःखसुखमा साथ दिने कसम खाई करिब दुई वर्षअघि विवाह गरी भारतको गोरखपुरबाट नेपाल आउँदा सुनिता खटिकले सुन्दर सपना देखेकी थिइन् । सामान्य विवादमा श्रीमानले जलाउने छन् भन्ने उनले सोचेकै थिइनन् ।
अहिले नेपालगञ्ज नगरपालिका–१२ का २२ वर्षीया सुनिता काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शैयामा छट्पटाइरहेकी छिन्। गत बिहीबार घरमा सामान्य झगडाहुँदा राजेन्द्रले सुनितालाई मट्टितेलको टुकीले हानेका थिए ।
टुकिमा रहेको मट्टितेलसँगै उनको शरिरमा आगो फैलियो। उनको छाती माथिको भाग र एउटा हात जल्यो। गाउँलेको सहयोगमा स्थानीय अस्पताल पुर्याीइएकी सुनिताको त्यहाँ उपचार हुन नसकेपछि ‘अग्नि हिंसापीडित’ संस्थाको सहयोगमा काठमाडौँ ल्याइएको छ।
उपचारमा संलग्न चिकित्सक डा प्रितेश जैसवालका अनुसार सुनिताको अवस्था चिन्ताजनक छ। अस्पतालको अति सघन कक्षमा उनको उपचार भइरहेको छ ।
धुवाँले फोक्सोमा कति असर गरेको छ भन्ने पत्ता लागेपछि मात्र अवस्थाबारे भन्न सकिन्छ,' उनले भने । छोराले बुहारी जलाउने प्रयास गरे लगत्तै फरार भए पनि सुनिताकी सासूले उनको उपचारका लागि काठमाडौंमा आएकी छिन्। 'हामी सँगै बस्दैनौँ । घर अलि टाढा छ ।
उनीहरुबीच के भएर यस्तो घटना घट्यो मलाई थाहा भएन,' उनकी सासू दुखानाले भनिन्। उनका अनुसार छ महिनादेखि छेरा बुहारी अलग अलग बस्दै आएका थिए । दुई वर्षअघि भारतको गोरखपुरस्थित दोहरियाबाट सुनिता विवाह गरी नेपाल आएकी थिइन् । श्रीमान रिक्सा चलाउने गर्थे । रासस