PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बालबालिकाले छुटाए अभिभावकको कुलत



पहिलोपोस्ट

बेनी (म्याग्दी) : घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी व्यवहारमा परिवर्तन ल्याई समाजका लागि सकारात्मक सन्देश दिएका छन्। 

म्याग्दी जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन्। उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले बताए। 

प्रअ कार्कीका अनुसार आफ्ना छोराछोरीको करले गर्दा अभिभावकहरु धूमपान, मद्यपानलगायतका दुव्र्यसनी त्याग्नुका साथै पारिवारिक जिम्मेवारी पनि सम्हाल्न थालेका छन् । आफ्ना बाबुआमालाई चर्पीमा दिसापिसाब गर्न र साबुनले हात धुन पनि सिकाएका छन्। 

‘बालबालिकामा आएको परिवर्तन देख्दा आश्चर्य लाग्छ’, प्रअ कार्कीले भने ‘सामाजिक कार्यका लागि जनश्रमदान गर्न, फाल्तु खर्च कम गरी बचत गर्न र आफूजस्तै बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गराउनसमेत कर गर्छन् यी बालबालिकाहरु।’ 

त्यसैगरी गाउँ बाल कल्याण समिति ज्यामरुककोटका संयोजक टीकाबहादुर कार्कीले बाल विकास केन्द्रमा अध्ययन गर्ने ६ देखि १५ वर्षसम्मका बालबालिकाले आफ्ना अभिभावकलाई सुधार्न सफल भएको बताए। ‘आफ्नै छोराछोरीले सिकाउन थालेपछि अभिभावकलाई पनि लाज लाग्दो रहेछ र उनीहरु सुध्रन बाध्य हुँदा रहेछन’ कार्कीले भने।
 
बालबालिकालाई घरायसी वातावरणमा अक्षर चिनाउनुका साथै दैनिक गर्नुपर्ने व्यक्तिगत र घरायसी सरसफाइसम्बन्धी आवश्यक विषय बाल विकास केन्द्रद्वारा सञ्चालित बाल कक्षामा सिकाइने गरिएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell