PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

म्याग्दीको दुर्गम क्षेत्रमा चिकित्सक अभाव, सेवा प्रभावित



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) : म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ। 

चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन्। अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताए। 

छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन्। ‘एक÷एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको गत महिना एकैपटक सरुवा भया’, भण्डारीले भने ‘एकजना करार अनमी र कार्यालय सहयोगीले संस्था धानेका छन्।’ 

सदरमुकाम बेनीदेखि दुई दिनमा पुगिने म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जामा कार्यरत चारजना स्वास्थ्यकर्मीको अघिल्लो महिना एकैपटक सरुवा भयो। कार्यरत कर्मचारीको सरुवा भएको र नयाँ कर्मचारी नआएकाले समस्या भएको गुर्जाका बासिन्दाले बताएका छन्। 

‘दुर्गम भएकाले कर्मचारी आउनै मान्दैनन्, आए पनि यहाँ पूरा समय बसेर काम गर्दैनन्’ गुर्जाका अगुवा रिद्धबहादुर छन्त्यालले भने ‘तालिम, गोष्ठीको बहानामा सदरमुकाम जाने स्वास्थ्यकर्मी महिनौँसम्म उतै हराउँछन् । सर्वसाधारण आधारभूत औषधि उपचार सेवाबाट वञ्चित छन्।’ 

मुना र गुर्जासँगै भुरुङ तातोपानी, पाखापानी स्वास्थ्य चौकीमा कार्यरत दरबन्दीका सबै स्थायी स्वास्थ्यकर्मी सरुवा भएपछि अहिले करारमा नियुक्त भएका कर्मचारीले धानेका छन्। पर्याप्त जनशक्ति नहुँदा भएका स्वास्थ्यकर्मीलाई कामको बोझ बढेको भगवती स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताए। 

विभिन्न तहका ६ जनाको दरबन्दी रहेको भगवती स्वास्थ्य चौकीमा हाल दुईजना मात्र प्राविधिक छन् । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, प्रसूति केन्द्र, गाउँघर क्लिनिक र कार्यालय सञ्चालन गर्न सीमित जनशक्तिलाई समस्या भएको शाहीले जानकारी दिए। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । २४ वटा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट पद रिक्त छ । जिल्ला अस्पतालमा तीनजना हेल्थ असिस्टेन्ट र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना अहेबको दरबन्दी खाली भएको अस्पतालका नायब सुब्बा रामचन्द्र रेग्मीले बताए। 

मन्त्रालय, विभाग र क्षेत्रीय निर्देशनालयले जिल्लासँग समन्वय नगरीकन केही स्वास्थ्य संस्थाका सबै कर्मचारीको सरुवा गरिदिएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख, वरिष्ठ चिकित्सक रोशन न्यौपानले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell