काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भक्तपुरका भूकम्पपीडितलाई आवास निर्माणका लागि आजबाट पहिलो किस्ता रकम उपलब्ध गराएको छ। उपत्यकाको लाभग्राही सूची संकलनपछि प्राधिकरणले पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराएको हो।
प्राधिकरणले काठमाडौंका भूकम्पपीडितलाई यसअघि नै पहिलो किस्ता रकम उपलव्ध गराउने प्रक्रिया सुरु गरिसकेको छ। पहिलो चरणमा ५० हजारका दरले आठ हजार परिवारलाई रकम पठाइएको प्राधिकरणका सहायक प्रवक्ता भीष्मकुमार भुसालले पहिलोपोस्टलाई जानकारी दिए।
भुसालले भने, 'विशेष कारणले केही समय रोकिएको पहिलो चरणको रकम दिन लागेको हौं। आजबाट पीडितको बैंक खातामा रकम जम्मा हुन्छ।’
प्राधिकरणले यसअघि नै उपत्यकाका दुई जिल्लाहरु काठमाडौमा १७ हजार ५० र ललितपुरमा दुई हजार ३६ परिवारलाई पहिलो चरणको रकम वितरण गरिसकेको छ।
सरकारले उपत्यकाका बाहिरका गोरखा, सिन्धुली लगायतका जिल्लामा पहिलो चरणमा ५० हजार लिएर घरको जग निर्माण सकेका परिवारलाई दोस्रो चरणको एक लाख ५० हजार रुपैयाँ वितरण सुरु गरिसकेको छ।
सरकारले अहिलेसम्म चार लाख ५० हजारभन्दा बढी परिवारलाई पहिलो चरणको ५० हजार रुपैयाँ वितरण गरिसकेको छ।