
काठमाडौँ : बंगलादेशलाई नेपालबाट विद्युत आयातका लागि आफ्नो भूमि प्रयोग गर्न दिन भारत तयार भएको छ।
नेपाली बिजुली आयात गर्ने क्रममा ट्रान्समिसन लाइन लैजान आफ्नो भूमि दिन भारत सहमत भइसकेको बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई उद्धृत गर्दै स्थानीय पत्रिका फाइनान्सिलय एक्सप्रेसले जनाएको छ।
‘हामीले भारतबाट यसबारे स्वीकृति पाइसकेका छौँ,’ हमिदले भनेका छन्, ‘अब बंगलादेशले जलविद्युतमा लगानी र आयात गर्ने बारे नेपाल सरकारसँग सम्झौता गर्नेछ।’
नेपालसँगै भुटानबाट समेत बिजुली आयातका लागि सम्झौता गर्ने उनले जानकारी दिए। ठूलो ऊर्जा संकटसँग जुधिरहेको बंगलादेशले छिमेकी मुलुकबाट १० हजार मेगावाट बिजुली आयातको लक्ष्य राखेको छ।
बंगलादेशले कुल खपतको कम्तीमा १० प्रतिशत बिजुली नविकरणीय ऊर्जाको स्रोतबाट आपूर्ति गर्ने लक्ष्य लिइएको मन्त्री हमिदले जानकारी दिए।
बंगलादेश सरकारले सन् २०४० सम्ममा ६० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ। सन् २०२१ भित्रै २४ हजार मेगावाट विद्युत उत्पादन पुर्याउने हमिदले बताए। त्यही क्रममा नेपाल लगायत छिमेकी मुलुकका जलविद्युत आयोजनामा लगानीको तयारी गरिएको हो।