PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

सिन्डिकेट तोडियो, बेनी-जोमसोमका यात्रुलाई सहज



पहिलोपोस्ट

मुस्ताङ : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ।
 
सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ। ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन्। एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ।
 
गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ। यो रुटमा हरेक दिन तीन वटासम्म जिप छुट्ने गरेका छन्।
 
धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो। समितिका सदस्य यमबहादुर पुनले मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौँबाट हरेक दिन दुई वटा रात्रि बस सेवा सुरु गरिएको बताए।
 
पोखरा र काठमाडौँबाट समेत सेवा सञ्चालन भएपछि पर्यटकीय जिल्लामा आउने पर्यटक र स्थानीयवासीलाई सहज भएको जोमसोमका कुलबहादुर थकालीले बताए। ‘पहिला पोखरासम्म पुग्न कि त महँगो भाडा तिरेर हवाईमार्ग प्रयोग गर्नुपथ्यो, तैपनि त्यो भरपर्दो थिएन,’  उनले भने, ‘अहिले बस र जिपमा रोजेर यात्रा गर्न पाइएको छ।‘  म्याग्दी र मुस्ताङ समितिले स्थानीय यात्रुलाई लक्षित गर्दै बेनी–घासा र घासा–जोमसोममा नियमित बस तथा जिप सञ्चालन गरिरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell