PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

चौथो एक दिवसीय खेल ८६ रनले जित्दै अस्ट्रेलियाद्वारा सिरिज कब्जा



पहिलोपोस्ट

चौथो एक दिवसीय खेल ८६ रनले जित्दै अस्ट्रेलियाद्वारा सिरिज कब्जा

डेविड वार्नरको शतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पाकिस्तानलाई चौथो एक दिवसीय खेलमा ८६ रनले पराजित गर्दै अस्ट्रेलियाले ५ खेलको सिरिज आफ्नो पक्षमा पारेको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा ३५४ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई २६७ रनमा अलआउट गर्दै घरेलु टोलीले एक खेल बाँकी रहँदै सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको हो।

अस्ट्रेलियाले ब्रिसवनमा भएको पहिलो एक दिवसीय ९२ रनले जितेको थियो भने पर्थमा भएको तेस्रो एक दिवसीयमा ७ विकेटले विजयी भएको थियो। मेलवर्नमा भएको दोस्रो एक दिवसीय भने पाकिस्तानले ६ विकेटले जितेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५३ रन बनाएको थियो। उसका लागि ओपनर डेविड वार्नरले शतक प्रहार गरे। वार्नर ११९ बल खेल्दै ११ चौका र २ छक्काको मद्दतमा १३० रन बनाए। उनले पहिलो विकेटका लागि उस्मान खवाजासँग ९२ र दोस्रो विकेटका लागि कप्तान स्टिभ स्मिथसँग १२० रनको पार्टनरसिप गरे। खवाजाले ३० तथा स्मिथले ४९ रन बनाए। 

चौथो विकेटका लागि ट्रेभिस हेड र ग्लेन म्याक्सवेलले शतकीय पार्टनरसिप गर्दै अस्ट्रेलियालाई उच्च योगफलतर्फ डोहोर्‍याएका थिए। हेडले ३६ बलमा ५१ तथा म्याक्वेलले ४४ बलमा ७८ रन जोडे। म्याथ्यु वेड ५ रन बनाएर आउट भए। पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए भने मोम्मद आमिरले १ विकेट हात पारे।

जवाफमा ३५४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.५ ओभरमा २६७ रनमा अलआउट भयो। पाकिस्तानका लागि ओपनर सर्जिल खानले सर्बाधिक ७४ रन बनाए भने सोएब मल्लिकले ४७ रन जोडे। मोम्मद हाफिजले ४० रन बनाए।

पाकिस्तानलाई अलआउट गर्न अस्ट्रेलियाका जोस हाजेलहुड र एडम जाम्पाले समान ३ विकेट लिए भने हेडले २ तथा मिचे स्टार्क र प्याट कमिङ्सले १/१ विकेट हात पारे।

पाँचौ तथा अन्तिम एक दिवसीय खेल एडेलेइडमा आगामी बिहीबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell