काठमाडौं : नेपाल बार एशोसिएशनले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको अभिव्यक्ति पदीय जिम्मेवारी बिपरित भएको टिप्पणी गरेको छ।
‘आफुखुशी कानुनी सल्लाहाकार राखे प्रतिरक्षा गर्दैनौं’ भन्ने अभिव्यक्तिलाई बारले पदीय जिम्मेवारी बिपरित भएको भन्दै आपत्ति जनाएको हो।
बारले बिज्ञप्ती जारी गर्दै संवैधानिक, राज्य संयन्त्र र व्यक्तिले समेत कानुनी परामर्श दिनका लागि संविधानले ग्यारेन्टी गरेको अवस्थामा महान्यायाधिवक्ताको भनाई जिम्मेवारीपूर्ण नभएको बताएको हो।
बारको बिज्ञप्तीमा भनिएको छ ‘ नेपाल कानुन व्यवसायी परिषदको अध्यक्ष तथा महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बहाल व्यक्तिले सम्पूर्ण कानुन व्यवसायीलाई समान दृष्टिकोण र समान व्यवहारबाट हेरिनु पर्नेमा नेपाल सरकारको मुख्य कानुनी सल्लाहाकारको रुपबाट मात्र आफ्नो दृष्टिकोण र अभिव्यक्ति अगाडी सार्नु न्यायोचित हुँदैन।’
महान्यायाधिवक्ता श्रेष्ठले केही दिनअघि कार्यालयमा मुख्यसचिव सहित नेपाल सरकारका सचिवहरुलाई आफुखुशी कानुन सल्लाहाकार नराख्न चेतावनी दिएका थिए । आफुखुशी सल्लाहाकार राखे ती निकाय र मन्त्रालयको मुद्दामा सरकारी वकिलले प्रतिरक्षा नगर्ने उनले चेतावनी दिएका थिए।