काठमाडौं : हवाइमार्गहुँदै भएको ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सारका सुब्बा पक्राउ परेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले भन्सारका सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको ब्युरोस्रोतले जानकारी दियो।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुको फोन सम्पर्क जालो केलाउनेक्रममा श्रेष्ठ समेत सम्पर्कमा देेखिएपछि प्रहरीले उनलाई मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो। अनुसन्धानस्रोतका अनुसार भन्सारमा बुझाउने रकम सुब्बा श्रेष्ठमार्फत वितरण हुने गरेको देखिएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।
भन्सारको जाँच पार गरेर भित्रिएको ३३ किलो सुन फेला परेसँगै ब्युरोले पुस २१ बाट पक्राउकोक्रम शुरु गरेकाे थियो। संगठित समूहको संलग्नतामा सुत तस्करी भएको बताउँदै आएको ब्युरोले हालसम्म सुन तस्करीमा संलग्न रहेको अभियोगमा तल्लातहका भरिया र सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।
सुन तस्करीमा संलग्न रहेको भन्दै नेपाल प्रहरीका एसएसपी श्याम खत्री विमानस्थलबाट प्रहरी प्रधान कार्यालय तानिए पनि उनको भुमिकाबारे प्रधान कार्यालयले औपचारिक रुपमा केही बोलेको छैन।