
बैतडी : भारतको उत्तराखण्डमा हुने निर्वाचनमा सिमा सुरक्षाबारे भारतको पिथौरागढमा नेपाल-भारतको सुरक्षा अधिकारीको बैठक भएको छ।
बैठकले सीमा क्षेत्रमा हुने अपराधलाई नियन्त्रणका लागि रणनिति पारित गरेको छ। बैठकमा सहभागी दुवै देशका अधिकारीले सिमामा हुने आपराधिक गतिविधीबारे समिक्षा गरेका थिए।
बैठकमा बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारी सहभागी थिए। बैठकमा भारतको उत्तराखण्डमा फेब्रुअरी १५ तारिखमा हुने निर्वाचनबारे समेत छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए।
निर्वाचनको समयमा सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्ने, चेलीबेटी बेचबिखन, जडीबुटी, लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा समेत छलफल भएको उनले जानकारी दिए।
दुवै देशका सुरक्षा अधिकारी सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न समन्वयात्मक तरिकाले अघि बढ्ने सहमति भएको उनले जानकारी दिए।
'भारतमा मजदुरी गरेर फर्कने नेपालीलाई सीमा क्षेत्रमा हुन सक्ने दुव्र्यवहारको बारेमा पनि छलफल भयो' उनले भने।
बैठकमा नेपालका तर्फबाट बैतडीका प्रजिअ चौधरीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा, अनुसन्धान अधिकृत रमेश डाँगा, दार्चुलाका सहायक प्रजिअ हर्कबहादुर सिंहलगायत तथा भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रजिअ डा रञ्जितकुमार सिन्हा र सुरक्षा अधिकारीको सहभागिता थियो । रासस