PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

लुम्बिनी यातायात कार्यालय : सर्भर बिग्रिएको भन्दै काम ठप्प, सेवाग्राही मर्कामा



पहिलोपोस्ट

तिलोत्तमा (रुपन्देही) : यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर (नेट) बिग्रिएका कारण एक हप्तादेखि काम ठप्प भएको छ । काम नभएपछि सेवाग्राही मर्कामा परेका छन्। 

बुटबल कार्यालयले माघ २ गते आइतबार एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रदा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्याङ्क राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने उल्लेख गर्दा सेवाग्राही मर्कामा परेका हुन्। 

कार्यालय प्रमुख बेदप्रसाद अर्यालले कम्प्युटरको सर्भर बिग्रदा कुनै काम गर्न नसकिएको बताए। उनले मर्मतका लागि विभागमा पठाएकोले अझै केही दिन लाग्ने जानकारी दिए। 

उक्त सर्भर केन्द्रीय डाटा बैंकमा जोडिने हुँदा राजस्व सङ्कलन, दर्ता, नवीकरणजस्ता कुनै पनि काम गर्न नमिल्ने कार्यालयले जनाएको छ। गएको सातादेखि कार्यालयमा काम ठप्प हुँदा टाढाबाट लाइसेन्स नवीकरण गर्न आउनेसमेत मर्कामा परेका छन्। 

लुम्बिनी अञ्चलका छ जिल्लासहित अन्य केही जिल्लालाई सेवा दिने कार्यालय बुटवलको यातायात व्यवस्था कार्यालयमा अहिले सेवा लिन पुग्ने सेवाग्राही दैनिकजसो कार्यालय पुग्दै फर्किदै गर्न बाध्य छन्। 

दैनिक कामको लागि निकै भिडभाड हुने कार्यालय केही दिनदेखि सुनसान बनेको छ। कर्मचारी कामबिहीन बनेका छन्। कार्यालयमा दैनिक एक हजारदेखि १२ सय जनाले सेवा लिने गरेको कार्यालयको भनाइ छ। 

वागमतीपछि लुम्बिनी लाइसेन्स कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्दछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell