जाजरकोट : सिँचाइ योजनाको पाइप चोरी हुँदा मजकोट–६ का स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन्।
पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको दुई वर्ष नबित्दै पाइप चोरी भएको हो। दुई महिनाअघि मुहानबाट करिब ४०० मिटर लम्बाइ रहेको पाइप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले बताए।
पाइप चोरी भएसँगै यहाँका २०० भन्दा बढी घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएकोे बेलपत्री प्रावि मजकोट–६ का प्रधानाध्यापक रामबहादुर नेपालीले जानकारी दिए। गरिबी निवारण कोषको रु ३६ लाखमा निर्माण गरिएको यो सिँचाइ योजना २०७० सालमा निर्माण गरिएको थियो।
पाइपमा पानी आएको बेला मजकोट–६ का सबै गाउँलेले जमिनमा सिँचाइ गरी गहुँबालीलगायत बेमौसमी तरकारी बाली लगाएका थिए। पाइप चोरी भएसँगै अहिले लगाएको अन्नबाली सिँचाइको अभावमा सुक्न थालेको प्रअ नेपालीले बताए।
पाइप चोरी गर्ने मानिसको खोजीका लागी यहाँका स्थानीयले प्रहरीमा उजुरी गरे पनि प्रहरीले सुनुवाइ नगरेको उनको भनाइ छ।
अहिले सिँचाइको सबै पानीबीच जङ्गलमा खेर गएको छ यता हाम्रा जग्गा बाँझै छन, प्रहरीले साथ देला भनेको तर केही भएन नेपालीले दुखेसो पोखे। रासस