
काठमाडौं : बिचाराधीन संविधान संशोधन विधेयकमा दलहरुबीच सहमतिका लागि तीन दिन स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ। दिउसो १ बजे बोलाइएको बैठकमा संविधान संशोधन विधेयक पेश हुनेछैन।
राजनीतिक दलहरुबीचमा विधेयक कसरी अघि बढाउने भन्ने छलफल जारी रहेका कारण संसद सचिवालयले विधेयकलाई कार्यसूचीमा समावेश गरेको छैन। पुस २४ गते संसदमा पेश भएको विधेयक जनताको जानकारीका लागि प्रकाशन भएपनि सैदान्तिक छलफलको प्रक्रिया अघि बढेको छैन।
संशोधन विधेयक पेश नभएपनि सरकारले नयाँ संविधान अनुसार आज संघीय आकस्मिक कोष गठनको विधेयक संसदमा पेश गर्नेछ। सरकारका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक संसदमा पेश गर्नेछन्।
विधेयक संसदमा पेश भएसँगै कोष गठनको कानुनी प्रक्रिया अघि बढ्नेछ। संविधानको धारा १२४ अनुसार गठन हुने कोषमा ऐन बमोजिम जम्मा हुने रकम संकलित हुनेछ।
कोष नेपाल सरकारको नियन्त्रणमा रहनेछ। सरकारले कोषबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्नेछ। तर, खर्च भएको रकमको शोधभर्ना गर्नुपर्नेछ।
यस्तै, सोमवारको बैठकमा बोनस ऐन पाँचौ संशोधन विधेयकमा संशोधन दर्ताका लागि अनुमोदन गर्ने कार्यसूची रहेको छ।