डडेल्धुरा : डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षांै बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन्।
बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन्। सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ।
विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६ लाई रङ्गुन नदीले बगाउँदा एउटा सिङ्गो गाउँ नै बगरमा परिणत भएको स्थानीय बाढीपीडित भानबहादुर साउदले बताए। रङ्गुन नदी र खहरेले आठ वर्ष अगाडि वडा नम्बर– ६ का बस्ती बगाएर बगर बनाउँदै लगेको पीडितले विगत सम्झँदै बताए।
हालसम्म वडा नम्बर ६ का, ठन्नजला, पट्यानी, बिरेपानी, मल्लो सिमलखेतको बस्ती बगरनै रहेकोे साउदले बताए। बाढीपीडित भई जाने सर्वसाधारण पुनःस्थापना नहँुदा जङ्गल मासेर बसेका छन्। विभिन्न निकायसँग गुहार माग्दा समेत पुनर्वास हुन नसकेको एक अर्का जङ्गलमा बस्दै आएका पीडित प्रदीप पन्तले बताए।
विस्थापित भएका परिवारको गणनानै नभएको पीडितको भनाइ रहेको छ ।
वडा नम्बर ६ का अढाइ सय घर परिवारमध्ये १५० घरपरिवारको घरखेत बगेर विस्थापित हुनुपरेको थियो। जसमध्येका २०६५ मा बाढीपीडित भएका ५९ घरपरिवारलाई सरकारले पुनर्वास गर्ने भनेको थियो तर अहिलेसम्म उनीहरुको समेत पुनर्वास नभएको स्थानीय बाढीपीडित बिर्खे साउदको भनाइ रहेको छ।
सरकारले भित्री मधेसमा रङ्गुन नदी र खहरेबाट बस्ती संरक्षण गर्न रु एक अर्ब १८ करोडको लगानी तीन वर्षमा पूरा हुने गरी गुरुयोजना लागू गरेको भएता पनि आउँदो आर्थिक वर्षमा मात्रै वडा नम्बर ६ समेटिने जनाएको छ। गुरुयोजनाको पहिलो चरणको काम जोगबुढा र परिगाउँबाट सुरु भएको छ। रासस