PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

काङ्ग्रेसमा देउवा दाउ : पहिला प्रधानमन्त्री, त्यसपछि मात्रै पदाधिकारी



रमेश वाग्ले

काङ्ग्रेसमा देउवा दाउ : पहिला प्रधानमन्त्री, त्यसपछि मात्रै पदाधिकारी

काठमाडौं : पार्टीमा रिक्त पदाधिकारीको नियुक्त कहिले हुन्छ ?

गएको जेठदेखि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ बदलिएको छैन 'अब छिट्टै हुन्छ।' उनी सभापति भएको १० महिना कट्यो । तर उनले भनेको त्यो छिट्टै आउने दिन अझै आएको छैन।

देउवाको दावीअनुसार छिट्टै आउनुपर्ने दिन १० महिनासम्म नआउँदा पार्टीले सभापतिपछि दोस्रोतहको उपसभापति पाउन सकेको छैन। पार्टी कार्यालयमा रहेको मनोनिततर्फको महामन्त्रीको कुर्सी धुलोले छपक्कै छोपिइसक्यो। पार्टीमा सह-महामन्त्रीको पद पनि छ है भन्ने पदाधिकारीले नै बिर्सिइसके।

'प्रचण्डजीसँग भएको सहमतिअनुसार अबको केही महिनामा शेरबहादुरजी प्रधानमन्त्री बन्दै हुनुहुन्छ,' रिक्त पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइबारे काङ्ग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले भने, 'उहाँ सरकारमा जाने समयसम्म कोही पनि असन्तुष्ट नहोस् भन्ने चाहनुहुन्छ।'
मन्सुरको दावीझैँ पार्टी पदाधिकारी नियुक्तिमा भएको ढिलाइको कारण यत्ति हो त ?  पार्टीभित्रको अवस्थाले देखाउँछ हैन।

देउवाको रणनीतिबारे जानकारका काङ्ग्रेस नेताका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बदलिएर देउवा प्रधानमन्त्रीको कुर्सीमा नपुगेसम्म उनले भनेको छिट्टै आउनुपर्ने दिन आउँदैन। जबसम्म देउवा प्रधानमन्त्री हुँदैनन् तबसम्म पदाधिकारी नियुक्त गर्ने दिन अझै पर धकेलिने निश्चित छ।

केन्द्रीय समितिमा आफ्नो पक्ष 'कम्फर्टेवल पोजीसन'मा नरहेको र सरकार गठन अगाडि नियुक्ति गर्दा अप्ठ्यारो पर्नसक्ने भएकाले उनी प्रधानमन्त्रीको कुर्सीमा नबसी नियुक्तिको मुडमा देखिएका छैनन्।

देउवालाई आफ्नै आश्वासन भारी

पार्टी नेतृत्वमा पुग्न देउवाले पार्टीभित्रका गुट, उपगुटदेखि सहायक गुटसम्मका नेतालाई आश्वासन बाँडेका थिए। पार्टी संस्थापनतिर रहेका नेताहरुलाई व्यक्तिगत रुपमा समेत विभिन्न आश्वासन दिएर आफूतिर तानेका थिए उनले। अहिले त्यही आश्वासनको भारी बोझिलो भएको छ उनलाई।

महाधिवेशन अगाडि पूर्वमहामन्त्री केवी गुरुङदेखि छुट्टै गुट चलाइरहेका खुमबहादुर खड्कासम्मलाई उनले उपसभापतिमा मनोनयन गर्ने वचन दिए। उनी निर्वाचित पनि भए।

तर आफ्नै गुटभित्रका आकांक्षीको बढ्दो संख्याले वचन पूरा गर्नसक्ने अवस्था देखिदैन। वचन पूरा नगर्दा विच्किएका समूह पौडेलतिर लाग्दा कार्यसमितिमा आफ्नो पल्ला कमजोर हुने हो कि भन्ने जोखिमका कारण उनी निर्णयहीन बसेका छन्।

उपसभापतिमा उनको रोजाइका नेता हुन्- बिमलेन्द्र निधि। उपप्रधान तथा गृहसहित निधि प्रचण्ड नेतृत्वको सरकारमा रहेकाले उनैलाई मुख्य पदमा मनोनित गर्दा आफ्नै गुटका पूर्णबहादुर खड्का लगायतका नेता विच्कने जोखिम उत्तिकै छ।

संस्थापनतर्फका महामन्त्री सशांक कोइरालाई ट्याकल गर्नसक्ने र पार्टीमा आफ्नो निर्णय हावी गराउने क्षमता भएका नेतालाई महामन्त्री बनाउने उनको दाउ देखिन्छ।

उपसभापति र महामन्त्रीमा आफ्नो गुटको ल्याए सह-महामन्त्री पार्टीको प्रतिष्पर्धी पौडेल समूहलाई दिनुपर्ने बाध्यता उनमा छ। सह-महामन्त्री बन्न उनकै समूहका नेताले गरेका दौडधूपबारे उनी जानकार नहुने विषय भएन।

'देउवा पदाधिकारी नियुक्ति भन्दा पनि पहिलो चरणमा विभागहरु गठन गरेर धेरै जनालाई जिम्मेवारी बाँड्ने तयारीमा हुनुहुन्छ,' देउवानिकट एक केन्द्रीय सदस्यले भने, 'उहाँ आफू सरकारमा जाने समय वा गैसकेपछिका मात्रै पदाधिकारी नियुक्त गर्ने तयारीमा देखिनुहुन्छ।'

केन्द्रीय सदस्य मन्सुर सरकारमा निधि उपप्रधानमन्त्री भएका कारण मनोनयन रोक्नुपर्ने कुनै कारण नभएको दावी गर्छन्। काङ्ग्रेसको विधानले एक पद एक व्यक्तिको विषयमा कुनै प्रावधान नभएकाले सरकारमा रहेका नेतालाई पार्टीमा मनोनित गर्न कुनै समस्या नभएको उनको दावी छ।

'पदाधिकारी प्रस्ताव गर्ने अधिकार सभापतिको हो, मनोनित गर्ने भनेकै सभापतिका लागि सहज होस् भनेर नै हो,' मन्सुरले भने, 'देउवाजी सभापति हुनुहुन्छ केही दिनमा सरकार परिवर्तन हुँदा उहाँ प्रधानमन्त्री बन्ने हो त्यसबेला उहाँ सभापति रहेरै प्रधानमन्त्री बन्नुहुन्छ भने उपप्रधानमन्त्रीले उपसभापति बन्न किन नपाउने?'

काङ्ग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा सभापतिसँग विभिन्न पक्षले कोटा माग गरिरहेको आफूले सुनेको बताए।

'महाधिवेशनमा सभापतिमा पराजित भएकाहरुले पनि देउवाजीसँग कोटा मागेको सुनेको छु,' विश्वकर्माले भने, 'चुनावमा पराजित भएपछि कोटा माग्ने र माग पूरा गरेर भागवण्डामा पार्टी चलाउने विषय लाजमर्दो हो।'
 

मौन छन् पौडेल र सिटौला

नेपाल तरुण दलको महाधिवेशसनपछि पौडेल पक्ष देउवाको विपक्षमा बोलेको छैन। पार्टीभित्र प्रतिपक्षको भूमिकामा रहेको पौडेलपक्ष मौन बस्दा देउवा दबाबमा छैनन्।

पौडेल पक्षका धेरै केन्द्रीय सदस्यहरु सांसद्समेत भएका र सरकार परिवर्तन हुँदा गुटगत रुपमा सरकारमा जान पाउने लोभमा उनीहरु मौन बस्न रुचाएका हुन्।

पौडेलतिरका केन्द्रीय सदस्य गुरुराज घिमिरेले संविधान संशोधनको प्रक्रियामा राष्ट्रिय राजनीतिमा सुधार हुन लागेकाले पार्टीभित्रका विषयमा तत्काल टिप्पणी नगर्ने बताए।

'अहिले सभापतिजी राष्ट्रिय राजनीति सुधारमा लाग्नुभएको छ, केही सङ्ग्लिने संकेत देखिएका छन्,' घिमिरेले दावी गरे, 'अहिले उहाँकै कार्यशैली र व्यक्तित्वका विषयमा टिप्पणी गर्न उपयुक्त समय हैन।'

संस्थापक र देउवा समूहबीचमा बैकल्पिक धार भन्दै उदाएको कृष्णप्रसाद सिटौला गुटसमेत पदाधिकारी मनोनयनमा देउवालाई दबाब दिने मुडमा देखिएन। देउवासँग मिलेर नेपाल विद्यार्थी संघ र महिला संघ पदाधिकारीमा 'तर मार्न' सफल सिटौला गुट तरुण दलको निर्वाचनमा भएको फेरबदलपछि मौन छ।

दोस्रोतहको नेतृत्वमा सरकारमा जाँदा आफ्नो गुटबाट स्वास्थ्य मन्त्री बनाउन सफल भएको सिटौला समूह देउवाको नेतृत्वमा बन्ने सरकारमा समेत आकर्षक मन्त्रालय सुरक्षित गर्ने रणनीतिमा छ।

सिटौला निकट केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा गुटको निर्माण नै स्वार्थका लागि भएको टिप्पणी गरे। काङ्ग्रेसमा गुट दृष्टिकोणका आधारमा भन्दा स्वार्थका आधारमा भएकाले सत्तापक्ष प्रतिपक्षको अभ्यास नरहेको दावी गरे।

'चरित्रगत हिसाबले सत्तापक्ष प्रतिपक्ष एउटै हुन्। काङ्ग्रेसमा सुधारका लागि ध्रुवीकरण भएको होइन, पदकै हिसाबले 'पोलोराइज' भएका हुन्,' पौडेलले भने, 'अधिवेशन पछि अन्तरद्वन्द्व भएकै छैन। गुटबाट सुधारको अपेक्षा गर्नु नै बेकार छ।'

'हिजो सुशील कोइरालाले प्रधानमन्त्री उम्मेद्वारी दिँदै गर्दा दृष्टिकोणमा अन्तर थिएन, खाली आफू वा आफ्नो गुट हुनुपर्छ भन्ने मत थियो, लोकमानसिंह कार्कीलाई नियुक्ति गर्ने समयमा पनि फरक मत आएनन्,' उनले भने, 'त्यसैले राष्ट्रिय मुद्दामा दृष्टिकोणमा अन्तर आउँदैन तर पनि काङ्ग्रेसमा गुट छन्। जसलाई सत्तापक्ष प्रतिपक्ष भनेर नभन्नुस्।'

उनले स्वार्थका मात्र गुट रहेको भन्दै मन्त्री छान्ने बेलामा फेरि मत विभाजन हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell