PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सिद्धबाबामा पहिरो रोक्न ‘रकनेट’ प्रविधिको परीक्षण सुरु



पहिलोपोस्ट

पाल्पा : पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ।

बर्सेनि १५/२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि रकनेट प्रविधिको परीक्षण गर्ने काम सुरु गरिएको हो।
 
सिद्धबाबादेखि दोभानसम्म चट्टानसहितको तीन किलोमिटर सडक पहिरोका कारण जोखमपूर्ण बन्दै गएपछि नियन्त्रणका लागि रकनेट प्रविधिको प्रयास थालिएको छ । सडकमाथिबाट खस्ने चट्टाने पहिरो सुरक्षित तरिकाले रोक्न नमुनास्वरुप ‘रकनेट’ (जाली) प्रविधिको जडान सुरु गरिएको छ। अहिले माथिल्लो सिद्धबाबा छरछरे नजिकै परीक्षण कार्य भइरहेको छ।
 
नमुना परियोजनाका रुपमा जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिले पहिरो रोकथामका लागि अस्ट्रियाको प्रविधि राख्न सुरु गरेको हो। प्रविधि जडान भएपछि प्रतिघन्टा एक सय किमीको गतिमा आएको एक टनको ढुङ्गा रोक्न सकिने भूगर्भविद् एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा. रञ्जनकुमार दाहालले बताए। जाली भीरमा अडाउनका लागि ड्रिलिङ मेसिनले प्वाल बनाउने काम भइरहेको छ । फागुन मसान्तसम्म जाली राख्ने काम सकिने उनले बताए।

परियोजनाका लागि रु ५२ लाख खर्च हुने अनुमान गरिएको छ। सडक डिभिजन कार्यालयको अनुमतिमा सबैभन्दा बढी पहिरो खस्ने छरछरेमा पहिरो नियन्त्रणमा उक्त प्रविधिको प्रयोग गर्न लागिएको हो। विश्वका धेरै देशमा सफल मानिएको यो प्रविधि नेपालमा भने पहिलोपटक प्रयोग गर्न थालिएको हो।

रकनेट प्रविधिमा माथिबाट झरेर आउने ढुङ्गालाई जालीले अडाएर राख्ने र सिधै सडकमा खस्न नपाउने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell