PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सामाजिक कार्यमा हाँस्य कलाकार: मह जोडीदेखि जिग्री सोल्टीसम्म



पहिलोपोस्ट

सामाजिक कार्यमा हाँस्य कलाकार: मह जोडीदेखि जिग्री सोल्टीसम्म

काठमाडौं : हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेलाई दर्शकले धुर्मुस सुन्तलीकै रुपमा रुचाएका थिए। टेलिसिरियल 'मेरी बास्सै'बाट चर्चामा आएका यि जोडिले २०७२ वैशाख १२ गते गएको भूकम्प पश्चात भने दर्शक हसाउनु भन्दा दर्शक खुशी बनाउने बाटो रोजे। स्टेज कार्यक्रम गरेर जम्मा गरेको पैसाले सयौं भूकम्प पिडितलाई राहत दिए। काभ्रेको पहरी बस्ती र गिरानचौरमा नमुना बस्ती स्थापना गरेर धुर्मुस सुन्तलीले भूकम्प पिडितलाई सहयोग मात्र गरेनन् इच्छाशक्तिको सकारात्मक पक्षको नमुना पनि बने।



धुर्मुस भन्छन्,'सहि समयमा लिएको सहि निर्णयका कारण यो सब सम्भव भयो। त्यस समय सक्दैनौं भनेर छोडेको भए हामीले कहाँ सक्थ्यौं र यो सबै?' धुर्मुसलाई लाग्छ नेतृत्व असल भए हातमा हात मिलाउन धेरैले चाह देखाउँछन्। भने,'सहयोगी मनलाई विश्वास दिलाउन सक्नु पर्यो। त्योभन्दा अगाडी काम गरेर देखाउनु पर्यो।'

धुर्मुस सुन्तली फाउण्डेशन मार्फत  महोत्तरीको मुशहर बस्तीमा तेस्रो एकिकृत बस्ती निर्माण गर्न जुटेका छन्।

उनीहरुलाई साथ दिए अर्का हाँस्य कलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले। मुशहर बस्ती निर्माणका लागि शिलन्यासको दिन एक लाख नगद सहयोग घोषणा गरेका मह जोडीले नैतिक, भौतिक र आर्थिक सहयोग सकेजति गर्ने प्रतिबद्दता जनाए। मह जोडीको हकमा सामाजिक कार्य नौलो भने होइन। आफ्ना कार्यक्रमहरु मार्फत समाज परिवर्तनको आह्वान र जनचेतनाको स्तरमा काम गर्दै आएको मह जनआन्दोलन ताका घाइते भएकाहरुका लागि सहयोग जुटाएर उदाहरणीय काम गरेका थिए। हरिवंश भन्छन्,'मनले चाहेपछि गर्ने काम हो समाज सेवा। हामी गर्छौं र गर्नेहरुको साथ रहन्छौं।'


महजोडीले दुई हप्ता अघिमात्र भवन निर्माण भइरहेको 'घर आँगन' नामक सामाजिक संस्थाका लागि सहयोग घोषणा गरेका छन्। अनाथ बालबालिकाका लागि आश्रम रहने संस्थाका संयोजक दीपक सिलवालले भने,'मह जोडी सहयोग गर्न कहिले पनि चुक्दैन। त्यसैले त अहिले मसँग रहेका १२ बालबालिकाका लागि लिजको जग्गामा भएपनि घर बनाउने आत्मबल जाग्यो।'

अर्को हाँस्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले पनि फिल्म 'छक्कापञ्जा'ले कमाएको नेट कलेक्शनको १० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन्।

फिल्मले ५१ दिन मनाएकै दिन निर्माण युनिटले अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए। त्यस्तै सोही दिन फिल्म निर्माता दीपकराज गीरीले फिल्म सुटिङ गरिएको गाउँ साल्मिटारको लागि एउटा एम्बुलेन्स प्रदान गर्ने बताए।

'फिल्मले धेरै कमायो अब त्यो पैसा सामाजिक सेवामा खर्च गर्नुपर्छ भन्ने तर्कको बिरोध गर्छु। तर मेरो मनले चाहेको खण्डमा र आवश्यक ठाउँमा दिनु मेरो धर्म हो', दिपकले पहिलोपोस्टसँग भनेका हुन्। उनले पाका र बिरामी कलाकारलाई रकम सहयोग गर्ने समेत जानकारी दिएका छन्।

यिनै हाँस्य कलाकारहरु जस्तै सामाजिक कार्यमा जुटेका छन् 'भद्रगोल' टेलिसिरियल युनिट। कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले  सप्तरीको गमहरिया प्रवाह–४ स्थित दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा सुरु गरेका हुन्।



सताराम कट्टेलको भाइ रहेका कुमार उर्फ जिग्री र अर्जुन उर्फ पाँडेले १७ जना सदस्य रहेको शिव मण्डलको परिवारलाई सहयोग गर्ने जानकारी दिए। सो परिवारलाई तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन्। परिवारमा एक बालक सहित पाँचजना दृष्टिबिहिन रहेको जनाइएको छ।
 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell