PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

समावेशी आर्थिक विकासका लागि आर्थिक विकेन्द्रीकरण



पहिलोपोस्ट

काठमाडौँ : समावेशी आर्थिक विकासका लागि नीतिगत सुधार एवम् सहरकेन्द्रित आर्थिक गतिविधिलाई विकेन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र एसियाली विकास बैंकले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले आर्थिक तथा सामाजिक असमानतालाई कम गर्न स्रोत परिचालनमा ध्यान दिनुपर्ने बताएका हुन्।

समावेशीताका लागि राज्यले सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो लगानी गरे पनि त्यसलाई व्यवस्थित बनाउन नसक्दा अपेक्षित नतिजा आउन नसकेको भन्दै उनीहरुले त्यसका लागि कार्यान्वनको पाटोमा राज्यको ध्यान पुग्नुपर्ने धारणा व्यक्त गरे।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्र रोजगारीको अवसर खोजिरहेका युवालाई सम्बोधन गर्दै विकासका योजना ल्याउनुपर्ने बताए। उनले सहरकेन्द्रित नीतिलाई विकेन्द्रित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य डा स्वर्णीम वाग्लेले मुलुकको आम्दानीबाट ठूला विकासका पूर्वाधार अघि बढाउन सक्ने अवस्था नभएकाले पूँजी निर्माणको पाटोलाई केन्द्रित गरेर अगाडि बढ्नुपर्ने बताए। उनले विकासलाई प्रवर्द्धन गर्ने नीतिबाट मात्रै समृद्धिको बाटो पहिल्याउन सकिने धारणा व्यक्त गरे।

अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले आर्थिक वृद्धिदर कम भए पनि गरिबी घटिरहेको उल्लेख गर्दै समावेशी आर्थिक विकासका नीतिगत एवम् संरचनागत सुधार गर्नुपर्नेमा जोड दिए।

पूर्व सचिव रामेश्वर खनालले समावेशी आर्थिक विकासका लागि सबैभन्दा पहिला उत्पादनमा विशेष जोड दिनुपर्ने र त्यसका लागि उत्पादनमुखी नीति अबलम्बन गर्नुपर्ने बताए।

एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक किनीचि योकोयामाले समावेशी आर्थिक विकासलाई अगाडि बढाउन ग्रामीण क्षेत्रमा पूर्वाधार विकासको पहुँच पुर्याउन र सवलीकरणलाई ध्यान दिनुपर्ने बताए।

अर्थशास्त्री विना प्रधानले घरायसी गतिविधिलाई अर्थतन्त्रमा जोड्नसके अर्थतन्त्रमा महिलालले पुर्याएको योगदानको कदर हुने बताए। सेजनका अध्यक्ष गोकर्ण अवस्थीले पछिल्लो समयमा ठूला योजना सम्पन्न हुने क्रममा रहेकाले आर्थिक समृद्धिमा सकारात्मक वातावरण सिर्जना गरेको धारणा राखे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell