काठमाडौँ : आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा गरेको नियमित अनुगमनका क्रममा आज ठूलो परिमाणमा अखाद्य पेय पदार्थ नष्ट गरेको छ।
गोङ्गबुस्थित मानन्धर स्टोरबाट १४ बोतल कोक र सात बोतल जूस, न्यू शक्ति स्टोरबाट म्याद नाघेको १६ बोतल पेयपदार्थ तथा नारायण ढकाल नामक पसलबाट पनि लेबल र मूल्यसूची नभएको पाँच बोतल पेय पदार्थ नष्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।
त्यस्तै गोङ्गबुमा नै रहेको कृष्ण महर्जनको पसलबाट पनि मिति सकिएको सूचीका दालमोठ २१ प्याकेट नष्ट गरिएको छ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनमा भद्रकाली आयल स्टोर काँडाघारी, काठमाडौँमा मिसावट गरिएको इन्धन बिक्रीवितरण गरेको गुनासो आएपछि अनुगमन गरी नेपाल आयल निगमले दिएको निर्देशन पालना गर्न निर्देशन दिएको छ भने नमुना परीक्षणका लागि केही लिटर डिजेल नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाइएको जानकारी निर्देशक श्रेष्ठले दिए। रासस