PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एकै परिवारका चार जनाको मिर्गौला फेल, विद्यार्थीद्वारा २४ हजार सहयोग



पहिलोपोस्ट

फलेवास (पर्वत) : गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चारजना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। 

विद्यार्थीले आफूले खाने खाजा खर्च कटाएर सबै विद्यार्थीसँग आर्थिक सहयोग जुटाएर मिर्गौलापीडितलाई उपचारको लागि सहयोग गरेका हुन्। 

जिल्लाको कुर्घा–३ का तिलोचन शर्माका एक छोरा, दुई छोरी र श्रीमतीको मिर्गौलाको उपचारको लागि सहयोग गरिएको हो। उक्त सहयोग रकम आइतबार एक कार्यक्रमको अवसरमा पर्वत जिल्ला क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीको हातबाट रु २४ हजार ३४० हस्तान्तरण गरिएको छ। 

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद जोशीले विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर मिर्गौलापीडितको लागि गरेको काम उदाहरणीय रहेको बताए। एक परिवारमा समस्या पर्दा विद्यार्थी पनि सक्रिय भएर आर्थिक एवम् अन्य सामाजिक सहयोगमा लागेको भन्दै खुसी व्यक्त गरे। उनले एकै परिवारका चार सदस्यको मिर्गौला फेल हुँदा परिवारमा हुने पीडालाई कसैले पनि भन्न नसकिने बताए। 

उनले मिर्गौलापीडितको लागि सरकारको सहयोग उपलब्ध गराउने भन्दै आफूले स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको बताए। रकम बुझ्दै पीडित शर्माले विभिन्न सहयोगी हातको सहाराले उपचार जुटेको जनाउँदै परिवारिक बज्रपातमा विद्यार्थीले पनि ठूलो गुन लगाएको बताए। 

सहयोग हस्तान्तरण कार्यक्रममा गुप्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, क्याम्पस ब्यवस्थापन समितिका सदस्य कुलप्रसाद पाध्या लगायतले बिद्यार्थीहरुले मिर्गौला पिडित परिबारको लागि सानो भएपनि सहयोग जुटाएकोमा खुसी ब्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell