PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​दशरथचन्द स्मृति क्रिकेट : त्रिलोचन र दशरथचन्द एकेडेमी विजयी



पहिलोपोस्ट

बैतडी : बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यू –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन्। 

सोमबार निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा सम्पन्न खेलमा एनआरवाइसी बठ्ठालाई चार विकेटले पाखा लगाउँदै त्रिलोचनले पहिलो जित दर्ता गरेको छ। 

टस जितेर ब्याटिङ रोजेको बठ्ठाले सुनिल चन्दको ३५ रनको मद्दतले २४ दशमलव ४ ओभरमा एक सय ४७ रन बनायो। त्रिलोचनका युवराज जोशीले तीन विकेट लिए। 

एकसय ४८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचनले २१ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। त्रिलोचनका अनिल पुजाराले ४४ तथा युवराज जोशीले ३९ रनको योगदान दिए। 

बठ्ठाका लागि तिलक चन्दले छ विकेट हात पारे पनि हार टार्न सकेन। व्यक्तिगत ३९ रन तथा तीन विकेट हात पार्ने त्रिलोचनका युवराज जोशी ‘म्यान अफ द म्याच’ घोषित भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए। 

उता बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा जगन्नाथ क्रिकेट क्लबलाई १३ रनले स्तब्ध पार्दै प्रतियोगिताबाटै बाहिरिसकेको आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लबले सान्त्वना जित हात पारेको छ। 

टस जितेर ब्याटिङ गरेको एकेडेमीले उत्तम चन्दको सर्वाधिक ३२ तथा अभिषेक चन्दको २० रनको मद्दतले १७ दशमलव पाँच ओभरमा १२९ रन बनाएको थियो। 

जगन्नाथका मनोज ऐरीले चार विकेट हात पारेका थिए। १३० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ २२ दशमलव पाँच ओभरमा ११६ रनमा अलआउट हुन पुग्यो। 

भुवन महरले २५ रन बनाए पनि हार टार्न सकेन। जगन्नाथको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच घोषित भएका एकेडेमीका अभिषेक चन्दले छ विकेट हात पारेको खेल संयोजक गणेश चन्दले जानकारी दिए। 

प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । निङ्गलाशैनी खेल मैदान देहीमाडौँमा हुने खेलमा योङ स्टार क्रिकेट क्लब मेलौलीले एनआरवाइसी बठ्ठाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा कालाशैनी क्रिकेट क्लबले त्रिपुरा क्रिकेट क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ टिमको सहभागिता छ। प्रतिष्ठानको २२ औँ वार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगिता एक दिवसीय क्रिकेट फर्मेट अनुसार ४० ओभरको खेल भइरहेको छ। 

बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र रहेको प्रतिष्ठानका सचिव नरेन्द्रबहादुर चन्दले जानकारी दिए।

यस्तै, म्यान अफ द सिरिज एक जनालाई नगद रु पाँच हजार प्रदान गरिने जनाइएको छ। 

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले विसं २०५३ सालदेखि नियमितरुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीबाट उमेर समूहका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell