PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नोट सेभेन पड्किएको बारे सामसुङको फाइनल जवाफ- 'सेटमा होइन ब्याट्रीको खराबी'



पहिलोपोस्ट

नोट सेभेन पड्किएको बारे सामसुङको फाइनल जवाफ- 'सेटमा होइन ब्याट्रीको खराबी'

सोल : ‘आइफोन राइभल’का रुपमा बजारमा ल्याइएको सामसुङको ग्यालेक्सी नोट सेभेन तात्ने र पड्किने समस्या देखिनुमा मोबाइल सेटको नभई ब्याट्रीको कारण भएको कम्पनीले जनाएको छ
 
आफ्नो मोबाइलको सफ्टवेयर वा हार्डवेयर दुवैमा समस्या नदेखिएको र सबै समस्या ब्याट्रीमा भएको निष्कर्ष दक्षिण कोरियाली टेक्नोलोजी जायन्ट सामसुङले निकालेको छ। 
 
गत वर्षको अगस्टमा लन्च गरिएको सामसुङ नोट सेभेनलार्इ एप्पल आइफोनको विकल्पको रुपमा बजारमा उतारिएको थियो। केही मोबाइल सेटमा तात्ने र पड्किने समस्या देखिएपछि सामसुङले गत सेप्टेम्बरमा २५ लाख वटा नोट सेभेन बजारबाट फिर्ता लिएको थियो। नोट सेभेनमा देखिएको समस्याले सामसुङलार्इ ठूलो धक्का लागेको थियो।
 
कम्पनीले आन्तरिक र स्वतन्त्र दुबै किसिमले यसबारे अनुसन्धान गरेको जनाउँदै समस्या देखिनुमा ब्याट्रीको मात्र दोष भएको जनाएको छ।
 
कम्पनीका अनुसार ब्याट्रीको डिजाइनिङ र उत्पादनका क्रममा नै केही ब्याट्रीहरुमा समस्या देखिएको थियो। ती ब्याट्रीहरु दुर्इ बेग्लाबेग्लै कम्पनीले बनाएका थिए। अनुसन्धानका क्रममा ब्याट्रीमा पर्याप्त इन्सुलेसन नपाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
ब्याट्रीमा देखिएको खराबीका लागि आफूहरुले नैतिक जिम्मेवारी लिने सामसुङले बताएको छ। सामसुङले ब्याट्री उत्पादक कम्पनीहरुको नाम भने सार्वजनिक गरेको छैन। सामसुङले ति ब्याट्री उत्पादक कम्पनीहरु विरुद्ध कानुनी उपचारको बाटो खोज्ने तयारी  नगरेको पनि स्पष्ट पारेको छ।बिबिसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell